सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

बजेट अभावले होम्ताङ-पिखुवा लिफ्ट आयोजना निर्माणमा ढिलाइ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २५ २०८२
बजेट अभावले होम्ताङ-पिखुवा लिफ्ट आयोजना निर्माणमा ढिलाइ

स्थानीयवासीको दशकौं देखि खानेपानी समस्या समाधान गर्ने लक्ष्यसहित सुरु गरिएको यो आयोजना पर्याप्त बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन।

भोजपुर- बर्सेनि न्यून बजेट विनियोजन हुँदा भोजपुरको होम्ताङ-पिखुवा लिफ्ट खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ।

स्थानीयवासीको दशकौं देखि खानेपानी समस्या समाधान गर्ने लक्ष्यसहित सुरु गरिएको यो आयोजना पर्याप्त बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन।

आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरिए पनि अपेक्षाअनुसार बजेट प्राप्त हुन नसक्दा कामले गति लिन नसकेको निर्माण उपभोक्ता समितिका सचिव राजेन्द्र राईले जानकारी दिए। उनका अनुसार आयोजना ठूलो र प्राविधिक रूपमा जटिल भए पनि हरेक वर्ष न्यून बजेट मात्रै विनियोजन हुँदा निर्माण ढिलाइ भएको छ। 

हालसम्म आयोजनाअन्तर्गत विभिन्न संरचना निर्माण भइसकेका छन्। तर अझै करिब चार किलोमिटर लामो मुख्य पाइपलाइन विस्तार गर्न बाँकी रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ।

चालु आर्थिक वर्षमा आयोजनाका लागि ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यो रकम बाँकी काम सम्पन्न गर्न पर्याप्त नभएको समितिले जनाएको छ ।

स्थानीय बासिन्दाको पिउने पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले पिखुवा खोलाबाट सात तहमा लिफ्टिङ प्रणाली प्रयोग गरी पानी बस्तीमा ल्याउने व्यवस्था गरिएको हो।

भौगोलिक रूपमा विकट र उचाइमा रहेका बस्तीहरूमा पानी पुर्‍याउन लिफ्ट प्रणाली आवश्यक परेकाले आयोजनाको लागत पनि उच्च रहेको छ। यो आयोजना सम्पन्न भएपछि हतुवागढी गाउँपालिकाका वडा नं १, ५ र ६ मा बसोबास गर्ने करिब एक हजार ४६९ घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ। हाल ती वडाका स्थानीयवासी बर्सात र सुक्खा दुवै समयमा खानेपानीको अभाव झेल्न बाध्य छन्। कतिपय बस्तीमा घण्टौ‍ं हिँडेर पानी बोकेर ल्याउनुपर्ने अवस्था अझै कायमै रहेको स्थानीय बताउँछन्।

आयोजनाको प्रारम्भिक अनुमानअनुसार कूल लागत ३० करोड ९० लाख ८२ हजार रुपैयाँ रहेको छ। यति ठूलो लागतको आयोजना भए पनि बजेट सन्तुलित रूपमा नआउँदा निर्माण कार्य समयमै सम्पन्न हुन नसकेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। 

स्थानीय सरकार र उपभोक्ता समितिले संघीय तथा प्रदेश सरकारसँग आवश्यक बजेट सुनिश्चित गरी आयोजना छिटो सम्पन्न गर्न आग्रह गर्दै आएका छन् । आयोजना समयमै सम्पन्न हुनसके स्थानीयवासीको खानेपानी समस्या समाधान हुनुका साथै स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा समेत सकारात्मक प्रभाव पार्ने स्थानीयको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, पुस २५ २०८२१०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend