काठमाडौं- अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा ठूलो लगानी गर्नुअघि केही निश्चित विषयमा आफूहरूलाई विश्वस्त पार्नुपर्ने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ऊर्जा बजारलाई बलियो बनाउन र भेनेजुएलाको तेल क्षेत्रलाई नियन्त्रणमा लिन अमेरिकी कम्पनीहरूलाई अगाडि सारिरहँदा निजी क्षेत्र भने अझै शंकामा नै देखिएको छ।
अमेरिकी तेल कम्पनीहरूले कानूनी र वित्तीय प्रत्याभूति नआएसम्म लगानी नगर्ने बताइरहेका छन्। कम्पनीहरूले भेनेजुएलाको ऊर्जा क्षेत्रमा ठूलो मात्रामा लगानी गर्नुअघि अमेरिकी सरकारबाट स्पष्ट, दीर्घकालीन र मजबुत कानूनी तथा वित्तीय प्रत्याभूति आवश्यक हुने बताएका छन्।
अमेरिकी अधिकारीहरू र शीर्ष ऊर्जा कम्पनीका कार्यकारीहरूबीच भएको निर्णायक छलफलमा यस्तो विषय उठेको हो। ट्रम्पले विश्व कच्चा तेल बजारमा आफ्नो शक्ति थप गर्न भेनेजुएलाको तेल क्षेत्रमा प्रत्यक्ष नियन्त्रण लिने घोषणा गरिसकेका छन्। उनले उत्तर एटलान्टिक महासागरमा एक रुसी तेल ट्यांकरलाई नियन्त्रणमा लिन आदेश दिएको विषय पनि सार्वजनिक भएको छ।
ट्रम्पले ह्वाइट हाउसमा अमेरिकाका ठूला ऊर्जा कम्पनीहरूका कार्यकारीहरूलाई छलफलका लागि बोलाएका छन्। कम्पनीहरूले भेनेजुएलामा लगानी गर्नुअघि कानूनी सुरक्षा, लगानीको सुनिश्चितता र सम्भावित घाटाको क्षतिपूर्तिसम्बन्धी स्पष्ट ग्यारेन्टी माग गर्ने तयारी गरेका छन्।
भेनेजुएलामा लगानी गरे अमेरिकी तेल कम्पनीहरूलाई 'सरकारबाट वा तेल आम्दानीमार्फत क्षतिपूर्ति उपलब्ध गराइने' आश्वासन ट्रम्पले दिएका थिए। तर ऊर्जा उद्योगका अधिकारीहरू ट्रम्प प्रशासनको अनिश्चित र आकस्मिक नीतिनिर्माणप्रति सशंकित रहेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ।
ऊर्जा क्षेत्रमा लगानी गर्ने एक निजी इक्विटी लगानीकर्तालाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ, 'जब एक अनियन्त्रित ट्वीटले नै देशको सम्पूर्ण परराष्ट्र नीति बदलिन सक्छ, त्यस्तो वातावरणमा कोही पनि अर्बौँ डलर जोखिममा राख्न चाहँदैन।'
ट्रम्पले भेनेजुएलाले करोडौँ ब्यारेल कच्चा तेल अमेरिकी चार्टर गरिएका जहाजमार्फत अमेरिकातर्फ पठाउने घोषणा पनि गरिरहेका छन्। ती तेलहरू गल्फ क्षेत्रका रिफाइनरीहरूले प्रशोधन गर्ने तयारी छ।
इरान र नाइजेरियामाथिको आक्रमणपछि भेनेजुएला पछिल्लो एक वर्षमा अमेरिकाको निशानामा परेको तेस्रो 'ओपीईसी' तेल उत्पादक देश हो। यो केवल क्षेत्रीय नीति नभइ विश्वव्यापी एजेन्डाका रुपमा हेरिएको छ। जसले क्रमशः विश्व ऊर्जा व्यापारलाई अमेरिकी सर्त र नियमअनुसार पुनःसंरचना गर्ने संकेत गरेको छ।
ट्रम्पको योजनाप्रति अमेरिकी ऊर्जा उद्योगभित्र नै व्यापक सन्देह देखिएको छ। राजनीतिक अस्थिरता, कानूनी अन्योल र हालको कम तेल मूल्यले भेनेजुएलामा लगानीलाई अत्यन्त जोखिमपूर्ण बनाएको आवाज उठिरहेको छ।
अमेरिकी ऊर्जा सचिव क्रिस राइटले अमेरिकाका ठूला तेल कम्पनीहरूले भेनेजुएलाको कमजोर ऊर्जा उद्योगमा अर्बौँ डलर लगानी गर्नुपर्ने ट्रम्पको सन्देश सुनाएका छन्। यससँगै अमेरिकाले भेनेजुएलामा अमेरिकी तेलक्षेत्र सेवा कम्पनीहरूलाई काम गर्न दिने र केही आर्थिक प्रतिबन्धहरू क्रमशः खुकुलो पार्ने संकेत पनि दिएको छ।
तर अमेरिकी तेल कम्पनीहरू भेनेजुएलामा नयाँ पूर्वाधार बनाउन अर्बौँ डलर हालिहाल्ने अवस्थामा छैनन्। ऊर्जा क्षेत्रका ठूला खेलाडी र लगानीकर्ताहरूका अनुसार अमेरिकाले स्वयं जोखिम वहन नगरेसम्म ठूला परियोजनाहरू अघि बढ्न गाह्रो छ।
हाल भेनेजुएलाको कच्चा तेल निर्यात गर्न अमेरिकी अनुमति पाएको एकमात्र कम्पनी 'सेभ्रोन' हो। सेभ्रोन थप तेल बिक्रीका लागि अमेरिकी विभागसँग सम्झौता संशोधनको प्रयासमा छ।
अमेरिकी कम्पनीहरू स्पष्टरुपमा जान्न चाहन्छन् कि उनीहरूले कोसँग सम्झौता गरिरहेका छन्? भेनेजुएला सरकार वैध हो कि होइन?