सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु

बिहीबार , पुस २४ २०८२
निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ।

काठमाडौं-आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय (मानवश्रोत विकास विभाग, भर्ना छनौट शाखा) ले स्वीकृत निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) विधि-२०८२ अनुसार निर्वाचन सुरक्षाका लागि अस्थायी जनशक्ति भर्ना गर्न दरखास्त आह्वान गरेको हो।

सूचनाअनुसार निर्वाचन प्रहरी पदका लागि कुल १ लाख ३३ हजार ९८० जनाको माग गरिएको छ। योग्यता पुगेका नेपाली नागरिकले मिति २०८२ पुस २५ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म, सार्वजनिक बिदाको दिन समेत, स्वयम् उपस्थित भई दरखास्त दिन सक्नेछन्। दरखास्त फाराम काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट प्राप्त गरी त्यहीँ बुझाउन सकिने व्यवस्था गरिएको छ।

दरखास्त दिने उम्मेदवार आवेदनको अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। यसका लागि जन्ममिति वि.सं. २०२८ माघ १ गतेदेखि २०६४ माघ १ गतेभित्र परेको हुनुपर्ने प्रावधान राखिएको छ। उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको तथा भर्ना हुने समयमा कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ।

नेपाल प्रहरीले शारीरिक र मानसिक रूपमा स्वस्थ व्यक्तिलाई मात्र भर्ना गरिने जनाएको छ। साथै, आतङ्ककारी वा विध्वंसात्मक संगठनसँग कुनै सम्बन्ध नरहेको हुनुपर्ने सर्त राखिएको छ। शारीरिक मापदण्डतर्फ पुरुषको न्यूनतम उचाइ ५ फिट, छाती ३१-३३ इन्च र तौल कम्तीमा ५० केजी हुनुपर्नेछ भने महिलाको हकमा न्यूनतम उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी तोकिएको छ। महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने उल्लेख गरिएको छ।

निर्वाचन प्रहरी छनोट गर्दा केही समूहलाई प्राथमिकता दिइने पनि सूचनामा उल्लेख छ। यसअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालबाट निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी तथा पूर्व वन रक्षकलाई प्राथमिकतामा राखिनेछ। यसैगरी, वि.सं. २०८१ माघ १ गतेदेखि २०८२ पुस मसान्तसम्म विभिन्न पदमा सुरक्षानिकायमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्र पेस गर्न सक्ने व्यक्तिलाई पनि प्राथमिकता दिइनेछ।

यसअघि सम्पन्न प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक रूपमा काम गरेका व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा सेवा गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई समेत छनोटमा प्राथमिकतामा राखिने नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापनका लागि यो भर्ना प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।


प्रकाशित : बिहीबार , पुस २४ २०८२०७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend