बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

बुधबार, पुस २३ २०८२
कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

बुधबार राति प्रधानमन्त्री सुशीला कार्की समक्ष घिसिङले राजीनामा दिएका हुन्।

काठमाडौं- अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्।

आज बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा बुझाएका हुन्। जेनजी आन्दोलनपछि गठन भएको चुनावी सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए।

अन्तरिम सरकारको मन्त्री पदमा बसेर पार्टीमा संलग्न भइ चुनावी प्रचारमा लागिरहेको भन्दै उनको आलोचना भइरहेको थियो। कठिन राजनीतिक परिस्थितिपछिको चुनावी समयमा सरकार स्वयं कुनै दलप्रति झुकेको देखियो भने त्यसले चुनावको निष्पक्षतामाथि गम्भीर आशंका उत्पन्न गर्ने भन्दै उनीमाथि प्रश्न उठेको थियो। प्रधानमन्त्री सुशीला कार्कीले पनि उनलाई मार्गप्रशस्त गरिदिन आग्रह गरेकी थिइन्।

आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराएका घिसिङले पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गरी एकता गरेका थिए। मंगलबारमात्र एक कार्यक्रममा आफू कुनैपनि पार्टीको सदस्य नरहेको भन्दै उनले सार्वजनिक प्रतिक्रिया दिएका थिए।

आलोचना बढ्दै गएपछि घिसिङले राजीनामा दिनेबारे बुधबार दिउँसो पार्टीका आफूनिकट नेताहरु र मन्त्रालयका कर्मचारीहरुसँग छलफल गरेका थिए। त्यससँगै अहिले उनले राजीनामा दिएका हुन्। 


प्रकाशित : बुधबार, पुस २३ २०८२२१:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend