काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेको हो। मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा खरिद-बिक्री भएको थियो।
यही पुस १३ गते सुन अहिलेसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्यले भने कीर्तिमान बनाएको छ। आज एक तोला चाँदीको मूल्य ४ हजार ९ सय ३५ रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
यसअघि यही पुस १४ गते प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको चाँदीको मूल्यले आज उक्त रेकर्ड ब्रेक गरेको हो।
अघिल्लो दिनको तुलनामा भने आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४ सय ६९ अमेरिकी डलर र साेही परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
