बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सौर्य ऊर्जाको उत्पादन बढाएर विद्युत आयात घटाउनुपर्छ : मन्त्री घिसिङ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २२ २०८२
सौर्य ऊर्जाको उत्पादन बढाएर विद्युत आयात घटाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं- ‍ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

नेपाल सौर्य विद्युत उत्पादक संघको २५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले नेपालमा सौर्य ऊर्जा बढ्दो क्रममा रहेकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। 'सौर्य ऊर्जा राष्ट्रिय प्रसारण ग्रिडमा जोडिन थालेको छ, यसको उत्पादन बढाउन सकिए विद्युत आयातलाई घटाउन सकिन्थ्यो,' उनले भने।

मन्त्री घिसिङले सौर्य ऊर्जालाई अगाडि बढाउन सरकारले मापदण्ड बनाएर कार्यान्वयनमा लैजान लागेको बताए। उनले देशभर रहेका सिँचाइका नहरमा सौर्य ऊर्जा उत्पादनका लागि सरकारले अध्ययन गरिरहेको उल्लेख गरे। 'सिँचाइका नहरमाथि सौर्य उत्पादन गरेर कसरी निजी क्षेत्रलाई समावेश गर्न सकिन्छ भनेर सरकार लागिरहेको छ,' उनले भने।

उनले छिमेकी मुलुक भारतमा एक लाख मेगावाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन भइरहेको बताउँदै नेपालको पहाडी भूभागमा रहेका डाँडाहरूको प्रयोग गरेर नेपालमा पनि सौर्य ऊर्जा उत्पादनलाई बढाउन सकिने बताए। भारतमा १५ हजार मेगावाट विद्युत निर्यात गर्ने गरी प्रसारण लाइन निर्माण भइरहेको उनको भनाइ थियो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले जलवायु परिवर्तनको असरले खोलाहरू सुक्दै जाँदा विद्युत उत्पादनमा असर परिरहेको बताए। उनले आगामी दिनमा नेपालले सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। उपाध्यक्ष श्रेष्ठले १६औँ पञ्चवर्षीय योजनालाई नवीकरणीय ऊर्जालाई प्राथमिकता दिएको बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले सरकारले आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ काम गरिरहेको बताए। उनले जलविद्युतसँगै सौर्य ऊर्जा क्षेत्रमा पनि क्रमशः विकास हुँदै गएको उल्लेख गरे।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नेपालभित्र विद्युतको पहुँच नपुगेका दूरदराजका क्षेत्रमा सौर्य ऊर्जा पुर्‍याउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा संघले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सौर्य ऊर्जा उत्पादनलाई मर्यादित र व्यवस्थित बनाउन संघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। संघको २५औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमसमेत छ। रासस


प्रकाशित : मंगलबार, पुस २२ २०८२१७:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend