बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

‘निसान पदमार्ग’ मा पुस २३ देखि २६ गतेसम्म पदयात्रा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २२ २०८२
‘निसान पदमार्ग’ मा पुस २३ देखि २६ गतेसम्म पदयात्रा

यही पुस २६ गतेसम्म जारी हुने पदयात्राका लागि स्थानीयले ठाउँठाउँमा स्वागतको तयारी गरेका छन्। पदमार्गअन्तर्गत पर्ने सूर्योदय, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जाजातिको झाँकीसहित स्वागत गर्ने तयारी छ।

इलाम- पर्यटन प्रवर्द्धन गर्न गत वर्षबाट सुरुआत गरिएको ‘निसान पदमार्ग’ मा यस वर्ष यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा आयोजना गरिने भएको छ। पुस २३ गते सूर्योदय नगरपालिका-४ मेचीबजारबाट सुरु हुने पदयात्रा पूर्णेडाँडा, सुन्तले, माईजोगमाई गाउँपालिकाको हात्तीटार, माइबेनी हुँदै २६ गते इलाम नरपालिकाको माईस्थानमा समापन गरिने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए।

४१ किलोमिटर उक्त पदमार्गमा तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो। यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेनाको रणशार्दूल गणले जनाएको छ।

नेपाल-भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने गणपति प्रह्लाद घलेले जानकारी दिए। तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो।

नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालाको टोलीले पदयात्रामा सहभागी हुने माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले बताए।

यही पुस २६ गतेसम्म जारी हुने पदयात्राका लागि स्थानीयले ठाउँठाउँमा स्वागतको तयारी गरेका छन्। पदमार्गअन्तर्गत पर्ने सूर्योदय, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जाजातिको झाँकीसहित स्वागत गर्ने तयारी छ। रणशार्दूल गणको पहलमा दुई वर्षअघिदेखि निसान पदमार्ग पहिचान गर्न थालिएको थियो। यसका लागि ती पालिकाले सेनालाई सहयोग गरेका थिए।

सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकाममा निसान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा तीन पालिकाले पहिचान गरी कार्यान्वयनमा ल्याएको हो। यसअघि भारतको नागरीगढीबाट नेपाल-भारत सीमाक्षेत्र सात माइल, मेची मुहान, सिद्धीखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईबेनी, तिल्केनी हुँदै माईस्थान मन्दिरसम्मको नक्सा तयारी गरी सार्वजनिक गरिएको थियो।

निसान पदमार्गको पदयात्राले इलामको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए। 'करिब दुई सय वर्षअघिको युद्ध इतिहास खोजी गर्दै निसान पदमार्ग निर्माण गरिएको छ, पदयात्राले जिल्लाको समग्र पर्यटन प्रवर्द्धनमा योगदान गर्ने अपेक्षा छ,' उनले भने, 'यसको प्रचारप्रसार भएपछि बाह्य पर्यटकसमेत यहाँ आउनेछन्।'

इलाम नगरपालिकाका प्रमुख थापाले निसान पदमार्ग पहिचानले इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताए। 'निसान पदमार्गले इतिहासको संरक्षणमा योगदान दिनका साथै समग्रमा इलामको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनेछ,' उनले भने।

सुगौली सन्धिपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ। मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भूभाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो। सम्झौता कार्यान्वयन गर्दै तत्कालीन सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका थिए।

पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्ने क्रममा हालको माईजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम-७ स्थित माईस्थान मन्दिर ल्याइएको बताइएको छ। माईस्थान मन्दिर विसं १८८० स्थापना भएको अनुमान छ। हाल निसान सोही मन्दिरमा संरक्षण गरी राखिएको छ। रासस


प्रकाशित : मंगलबार, पुस २२ २०८२१६:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend