काठमाडौं- एनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालक रामकृष्ण खतिवडा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि वित्त तथा व्यवस्थापन विज्ञका रूपमा परिचित खतिवडालाई उक्त पदमा नियुक्त गरेको हो।
चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक-निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशकभन्दा लामो व्यावसायिक अनुभव सँगालेका छन्।
उनले यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव भएर काम गरेका छन्।
यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धकका साथै लगानी बोर्ड नेपालसहितका विभिन्न संस्थामा उच्च पदमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ।


