विराटनगर- मोरङको कटहरी गाउँपालिका वडा नम्बर ३ मा भक्का पीठ उत्सव आयोजना हुने भएको छ।
राजवंशी विकास समाज कार्यसमिति कटहरीले पुस २६ गते केन्द्रीय कार्यालयमा आयोजना गर्ने कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्य रहने छ।
राजवंशीहरूको मौलिक खानाको रूपमा परिचित भक्का प्रवर्द्धन तथा संरक्षण गरी व्यापारिक रूपमा बजारीकरण गर्दै राष्ट्रियकरण गर्ने उद्देश्यले यो उत्सव आयोजना गर्न लागिएको राजवंशी विकास समितिका केन्द्रीय सचिव मनोज राजवंशीले बताए।
कार्यक्रममा राजवंशी समुदायको मौलिक संस्कृति झल्कने नृत्य प्रस्तुतिका साथै पाहुनाहरूलाई भक्का, माछा, पीठ जस्ता राजवंशी समुदायको परम्परागत परिकारले सत्कार गरिने छ।
पूर्वी नेपालको झापा, मोरङ, सुनसरीका राजवंशी समुदायमा प्रचलित भक्का अहिले सबै समुदायका मानिसहरूको रोजाइमा पर्दछ। पहिचानसँग जोडिएको खानाको संस्कृति लोप हुँदै गएका कारण देशभर यो परिकार पस्किन सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पनि सचिव राजवंशीको विश्वास छ।
चामलको पिठोबाट बनाइने भक्कालाई माटोको वा अरू कुनै भाँडोमा पानी तताएर त्यसको बाफलाई स-साना प्वाल भएको माटोको प्लेटबाट बाहिर निकालेर त्यसमा चामलको पिठो राखिन्छ र सुतीको कपडाले छोपिन्छ। सोही पानीको बाफले चामलको पिठो पाकेपछि भक्का तयार हुन्छ।