बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

साढे पाँच अर्बको लगानीमा काठमाडौंमा दुईवटा अपार्टमेन्ट बन्दै, कुनमा कति लगानी?

मंगलबार, पुस २२ २०८२
साढे पाँच अर्बको लगानीमा काठमाडौंमा दुईवटा अपार्टमेन्ट बन्दै, कुनमा कति लगानी?

कान्तिपथमा १६ तले 'वन वर्ल्ड अपार्टमेन्ट'सहित मिश्रित आवासीय भवन र विशालनगरमा आधुनिक आवासीय अपार्टमेन्ट निर्माण प्रक्रिया अघि बढेको छ।

काठमाडौं- काठमाडौं उपत्यकामा दुईवटा नयाँ अपार्टमेन्ट निर्माण हुने भएको छ। अपार्टमेन्ट निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।

मन्त्रालयले चार अर्ब रुपैयाँको लागतमा काठमाडौंको विशालनगरमा ४६ वटा अपार्टमेन्ट इकाइको १० तले भवन र डेढ अर्बको लगानीमा कान्तिपथमा अपार्टमेन्टसहित मिश्रित आवासीय भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको हो।

ओएसिस होटल प्रालिले काठमाडौंको कान्तिपथमा १६ तले 'वन वर्ल्ड अपार्टमेन्ट'सहित मिश्रित आवासीय भवन निर्माण गर्ने भएको छ भने डीएलएफ गिन्स प्रालिले काठमाडौं महानगरपालिका-४ स्थित विशालनगरमा करिब ४ अर्ब रुपैयाँ लागतमा आधुनिक आवासीय अपार्टमेन्ट निर्माण प्रक्रिया अघि बढाएको छ।

डीएलएफ गिन्स प्रालिले निर्माण गर्न लागेको अपार्टमेन्टमा १०/१० तले दुईवटा भवन हुनेछ। जसमा प्रत्येक भवनमा २३/२३ वटा गरी जम्मा ४६ अपार्टमेन्ट इकाइ रहने छन्। दुईवटै भवनमा दुईवटा भुइँतला रहने छन् भने ती भुइँतलामाथि थप १० तला उठाइनेछ।

२२ हजार ८ सय ३ वर्गमिटर क्षेत्रफलमा फैलिने यस संरचनामा दुईवटा बेसमेन्ट रहने छन्। जहाँ पार्किङ, इलेक्ट्रिक कोठा, शौचालय र प्यासेज जस्ता पूर्वाधार निर्माण गरिनेछ। प्रस्तावित निर्माणस्थल कुल ७ रोपनी ११ आना क्षेत्रफलमा रहेकाले यसले विशालनगर क्षेत्रमा ठूला निजी आवासीय संरचनाको विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

जग्गा खरिददेखि भवन निर्माणसम्मको कुल लागत ३ अर्ब ९२ करोड २२ लाख ८ हजार ८ सय १ रुपैयाँ रहने प्रारम्भिक अनुमान प्रतिवेदनमा उल्लेख छ।  

यसैगरी ओएसिस होटल प्रालिले १६ तले 'वन वर्ल्ड अपार्टमेन्ट'सहित मिश्रित आवासीय भवन निर्माण गर्ने भएको छ। आवासीय भवनको लागत १ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ। 

आयोजना निर्माण हुने कुल क्षेत्रफल ७ रोपनी २ आना रहेको छ। कुल मिश्रित आवासीय भवनले ओगटेको जग्गाको क्षेत्रफल १ हजार ४ सय ४७ वर्गमिटर हुने छ। यसैगरी मिश्रित आवासीय भवनको तलाको कुल क्षेत्रफल २२ हजार ७ सय ९ वर्गमिटर हुनेछ। 

मिश्रित आवासीय भवनको आवासीय क्षेत्रको लागि ५ हजार २ सय ८ वर्गमिटर क्षेत्रफल छुट्याइएको छ। व्यावसायिक क्षेत्रका लागि ८ हजार ७ सय १ वर्गमिटर तथा खुला र हरियाली बनाइने क्षेत्रका लागि कुल जग्गामध्ये ५९.६४ प्रतिशत जग्गा छुट्याइएको छ।

मिश्रित आवासीय भवनको एउटा भवन रहने छ, जसको उचाइ ५२ मिटर हुने छ।  मिश्रित आवासीय भवनको भुँइ तलामा पार्किङ, जिम, कार्यालय, हल र लबी रहने छ। पहिलो तलामा ८ र दोस्रो तलामा ९ वटा पसल रहने छ भने तेस्रो, चौथो,पाँचौ र छैँठौँ तलामा ५/५ वटाका दरले अफिस स्पेस रहने छ।

यसैगरी सातौँ तलामा वेन्क्वेट हल, वेन्क्वेट किचन, स्टोर रुम, मिटिङ रुम र प्रि-फंगसनल क्षेत्र रहने छ। यसैगरी आठौँ तलामा लाउञ्ज र स्विमिङ पुल, रिसेप्सन र स्टाफ किचन रहने छ। त्यसमाथिक तेह्रौँ तलासम्म हरेकमा ८ वटा अपार्टमेन्ट रहने छ। भवनको दुई तला भने भूमिगत रहने छ। जहाँ सवारी पार्किङ हुने छ।


प्रकाशित : मंगलबार, पुस २२ २०८२११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend