काठमाडौं- जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड (जेएफएल) ले आफ्नो उपभोक्ता ब्रान्ड ‘माटो’ को आठौँ स्टोर तथा गोदाम ललितपुरको थैबामा स्थापना गरेको छ। जेएफएले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै किसानहरूका उत्पादनलाई प्लेटफर्म उपलब्ध गराउने योजनाअनुसार स्टोर सञ्चालनमा ल्याएको जनाएकको छ।
१५ हजार वर्गमिटर क्षेत्रमा फैलिएको स्टोर करिब ५० लाख रुपैयाँमा सञ्चालनमा आएको हो। यसले प्रशोधन केन्द्रको रूपमा समेत कार्य गर्ने र त्यहाँ आधुनिक मेसिनरी तथा प्रणालीहरू जडान गरिएका जेएफएलले जनाएको छ।
‘माटोले रासायनिक कीटनाशक, मल तथा संरक्षक पदार्थको प्रयोग नगरी उत्पादन गरिएका स्थानीय वस्तुहरूको प्रबद्र्धन गर्दै आएको छ, जसले उपभोक्तालाई शुद्धता र ताजापनले चिनिएका उत्पादनहरू प्रदान गर्दछ,’ जेएफएलका अध्यक्ष पवनकुमार गोल्याणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महिला उद्यमीहरूलाई प्राथमिकता दिइने भएकाले समावेशी उद्यमशीलता र दीर्घकालीन दिगोपनलाई प्रोत्साहन गर्नेछ, यस प्लेटफर्ममार्फत महिला उद्यमीहरूलाई समेत खरिद प्रत्याभूति प्रदान गर्नेछ।’
यस सुविधाले साना तथा मझौला उद्यमका लागि कार्यस्थल उपलब्ध गराउने भूमिकासमेत निर्वाह गर्ने जेएफलले जनाएको छ। जसका कारण सम्पूर्ण मूल्य शृंखलामा कार्यक्षमता, प्रभावकारिता, गुणस्तर र पहुँच अभिवृद्धि गने उसको भनाइ छ।
जेएफएल नेपालको कृषि तथा वन क्षेत्रलाई रूपान्तरण र सशक्त बनाउने दीर्घकालीन प्रतिबद्धता बोकेको सार्वजनिक कम्पनी हो। राष्ट्रको हितलाई केन्द्रमा राखी दिगो विकास र समृद्धिका मूल्यहरूमा दृढ रूपमा आधारित रही कम्पनीले आफ्नो बलियो कृषि आधारमार्फत दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्दै आएको छ। कम्पनीले उच्च मूल्यका कृषि उत्पादनहरू तथा जैविक कृषि अभ्यासमा आधारित पूर्वाधार विकासमा विशेष ध्यान दिँदै आएको विज्ञप्तिमा उल्लेख छ।
‘जेएफएलको मूल सिद्धान्त तथा सबैभन्दा पुरानो प्रतिबद्धता किसानहरूको उत्थान गर्नु र उनीहरूको उत्पादनलाई खरिद प्रत्याभूति सहित बजारसम्म पुर्याउनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सशक्त आपूर्ति शृंखला निर्माणमार्फत कम्पनीले अन्तर्राष्ट्रिय विकास संस्थाहरू, विभिन्न निजी क्षेत्रका सरोकारवालाहरू तथा अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्दै देशभरका किसानहरूलाई सशक्त बनाउने लक्ष्य लिएको छ।’
कम्पनीका सम्पूर्ण लगानीहरू दिगो विकास लक्ष्यहरूमा सकारात्मक प्रभाव पार्ने दिशामा केन्द्रित रहेको जेएफएलले जनाएको छ।
