सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

घट्यो अण्डाको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २१ २०८२
घट्यो अण्डाको मूल्य

ठूलो अण्डा ५६५ प्रतिक्रेट पुगेको अण्डाको मूल्य घटेर ४७५ मा झरेको हो। यस्तै मिडियम अण्डाको प्रतिक्रेट ५५० बाट ४६० रुपैयाँमा झरेको संघले जनाएको छ।

चितवन- अण्डाको मूल्य घटेको छ। नेपाल लेयर्स कुखुरापालक संघले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी भोलिदेखि लागु हुने गरी अण्डामा प्रतिक्रेट ९० रुपैयाँले घटाएको हो।

फार्ममा ठूलो अण्डा ५६५ रुपयाँ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर ४७५ रुपैयाँमा झरेको हो। यस्तै मिडियम अण्डाको प्रतिक्रेट ५५० बाट ४६० रुपैयाँमा झरेको संघले जनाएको छ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूला फार्म बाट दररेट लिएर समर्थन मूल्य तोकिएको हो। यससँगै उपभोक्ता मूल्य प्रतिगोटा २५ बाट २० रुपैयाँमा झारिएको छ।

बढ्दो जाडोसँगै उपत्यका र हिमाली भेगमा विद्यालय बन्द र गतिविधि कम भएको, पर्यटकको आगमन घट्दै गएको, अण्डाको मूल्य राम्रो पाइने आशामा कुखुरा बिक्री नगरी अण्डा उत्पादन गरिरहेकालगायत कारणले मूल्य घटेको हो।

पहिलेको तुलनामा हाल खपत कम र उत्पादन बढी भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले जाडो कम हुँदै गएर जनजीवन सहज भएसँगै पुनः अण्डाको माग बढ्ने बताए।

'अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ छ पैसा पर्न आउँछ। लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसानलाई थप नोक्सान हुने भएको छ', उनले भने।

संघले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तलमाथि गर्ने गरेको छ। रासस


प्रकाशित : सोमबार, पुस २१ २०८२१८:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend