सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

दोस्रो राष्ट्रिय आर्थिक गणना हुँदै, पाँच हजार जनशक्ति परिचालन

सोमबार, पुस २१ २०८२
दोस्रो राष्ट्रिय आर्थिक गणना हुँदै, पाँच हजार जनशक्ति परिचालन

तथ्यांक संकलनपछि २०८३/८४ भित्रै अन्तिम प्रतिवेदन सार्वजनिक गरिसक्ने कार्यालयको लक्ष्य रहेको छ।

काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय आर्थिक गणना आगामी चैतदेखि गर्ने भएको छ। दोस्रो आर्थिक गणनाका लागि कार्यालयले चैत १ गतेदेखि कार्यालय स्थापना गरेर सुरुवात गर्ने भएको छ। 

पहिलोपटक २०७५ सालमा  आर्थिक गणना भएको थियो। निरन्तरता र केही सुधारसहित दोस्रो आर्थिक गणना यही चैतदेखि सुरू हुने भएको छ। गणनाका लागि चैत १ गते देशभर ८५ वटा जिल्ला कार्यालय स्थापना हुनेछन्। 

काठमाडौंमा जिल्लास्तरीय पाँचवटा कार्यालय हुनेछन् भने केही ठूला जिल्लामा दुई र बाँकी जिल्लामा १/१ वटा कार्यालय स्थपाना हुनेछन्। यसरी कार्यालय स्थापना भएपछि त्यहीबाट स्थानीय स्थलगत तथ्यांक संकलन हुनेछ। 

तथ्यांक संकलनका लागि संकलक र सुपरीवेक्षक गरी पाँच हजार जनशक्ति परिचालन हुनेछ। करिब चार हजार गणक करारमा लिइने कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए। गणक छनौटका लागि केन्द्रले सर्टिस्ट गर्ने र छनौट भने सकभर स्थानीयस्तरमै हुनेछ। 

गणक छनौट भएपछि दुई महिनाको सुविधा पाउनेछन्। 

बैशाख २ गतेदेखि असार ७ गतेसम्म तथ्यांक संकलनको काम हुने लामिछानेले जानकारी दिए। 

गणनाका लागि व्यावसायिक फर्मको तथ्यांक संकलन हुनेछ। फर्मको प्रकार, सेवा तथा वस्तुको उत्पादन(मूल्य परिणाम) संकलन हुनेछ। यसका लागि गणकले म्यानुअलका साथै डिजिटल रुपमा आफै पनि भर्न पाइनेछ। यसका लागि गणकले सहयोग गर्ने लामिछानेले जानकारी दिए। 

तथ्यांक संकलनपछि २०८३/८४ भित्रै अन्तिम प्रतिवेदन सार्वजनिक गरिसक्ने कार्यालयको लक्ष्य रहेको छ। 

व्यावसायिक अवस्थितिको स्पष्ट तथ्यांक भएपछि नीतिगत व्यवस्थाका लागि सरकारलाई सहज हुने, अर्थतन्त्रको वास्तविक आकार र प्रकृतिको वारेमा जानकारी हुने लामिछानेको विश्वास छ। यस्ता सर्वेक्षण र गणनाको आधारमा सरकारलाई नीति बनाउन पनि सहयोग पुग्ने लामिछानेको भनाइ छ। 

 


प्रकाशित : सोमबार, पुस २१ २०८२१६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend