काठमाडौं- पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले दुई दशक अगाडिदेखि नै पेट्रोलमा इथानोल मिसाउने निर्णय गरी तयारीसमेत गरेको थियो तर कार्यान्वयन जान सकेको अवस्था थिएन। भारतले पनि अहिले पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्यसहित यसलाई कार्यान्वयन गरिरहेको छ।
यस्तै मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ।
यस्तै राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय पनि गरेको छ।
साथै जेनजी शहीद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने, नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारीपत्र स्वीकृत गर्ने साथै नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ।
यस्तै वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने र नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय पनि भएको छ।