बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विदुषी राणाले भनिन् - व्यक्तिगत राजनीतिक लाभका लागि समानुपातिक उम्मेदवार बनेकी होइन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २० २०८२
विदुषी राणाले भनिन् - व्यक्तिगत राजनीतिक लाभका लागि समानुपातिक उम्मेदवार बनेकी होइन

स्वदेशी उत्पादन, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, सीप विकास, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तीकरणको आवाज संसदमा उठाउन समानुपातिक उम्मेदवारी दिएको राणाको भनाइ छ।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा परेकी गोल्डस्टार जुत्ता उत्पादक कम्पनी किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणाले आफ्नो उम्मेदवारीको कारणबारे स्पष्ट पारेकी छिन्। 

उनले काठमाडौंका मेयर एवं रास्वपाका नेता बालेन शाहको आग्रहमा गहिरो संवाद र बारम्बारको विचारविमर्शपछि यो जिम्मेवारी स्वीकार गरेको बताएकी छिन्। आफ्नो उम्मेदवारी व्यक्तिगत राजनीतिक लाभका लागि नभएको उनको स्पष्टोक्ति छ। 

'विगत धेरै वर्षदेखि मैले उद्योग र उत्पादन क्षेत्रले भोग्दै आएका नीतिगत ढिलाइ, कर प्रणाली, व्यापार नीति, ढुवानी, निर्यात, वित्तीय पहुँच र श्रमसम्बन्धी चुनौतीहरू निरन्तर रूपमा उठाउँदै आएको छु, किनभने म्यानुफ्याक्चरिङ नै समग्र उद्योगको मेरुदण्ड हो। यही सन्दर्भमा नगर प्रमुख बालेन्द्र शाहज्यूले मलाई समानुपातिक सूचीमार्फत उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसदमा अघि बढाउन आग्रह गर्नुभयो' उनले भनेकी छिन्, 'यो आग्रह कुनै राजनीतिक करियरका लागि होइन; नेपाली उद्योग बाँचोस्, रोजगारी सिर्जना होस्, महिला आर्थिक रूपमा सक्षम बनून् र नेपाल उत्पादनशील बनोस् भन्ने साझा चिन्ताबाट आएको थियो। गहिरो संवाद र बारम्बारको विचारविमर्शपछि मैले यो जिम्मेवारी स्वीकार गरेकी हुँ।'

स्वदेशी उत्पादन, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, सीप विकास, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तीकरणको आवाज संसदमा उठाउन समानुपातिक उम्मेदवारी दिएको उनको भनाइ छ।

संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वको मर्मअनुसार उद्योग र उत्पादन क्षेत्रमा पुरुष र महिला दुवैको समान सहभागिता अपरिहार्य रहेको उनको विचार छ। भविष्यमा यी एजेन्डालाई  प्रभावकारी रूपमा अघि बढाउन सक्ने कोही आएमा पूर्ण सम्मानका साथ जिम्मेवारी हस्तान्तरण गर्न तयार रहेको पनि उनले बताएकी छिन्।

'मेरो चासो पद वा अधिकारमा होइन; मेरो चासो मुद्दा र यसको निरन्तरतामा छ। नेपालको भविष्य उत्पादनशील उद्योग, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तिकरणमा निर्भर छ। यही विश्वासका साथ म यस भूमिकामा इमानदार, जिम्मेवार र रचनात्मक योगदान दिन प्रतिबद्ध छु,' राणाले भनेकी छिन्। 

रास्वपाले राणालाई खस-आर्य महिला क्लस्टरतर्फ दोस्रो नम्बरमा राख्दै उम्मेदवारको बन्दसूचीमा समावेश गरेको छ। 


प्रकाशित : आइतबार, पुस २० २०८२१८:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend