सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २० २०८२
बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती

तिहारमा देउसीभैलो खेलेर जुटाएको ३५ हजार रुपैयाँसहित ७० हजार रुपैयाँको लागतमा १५ वटा सडकबत्ती जडान गरेर ताराखेतलाई झिलीमिली बनाएको स्थानीय युवा अर्जुन पौडेलले बताए।

म्याग्दी- मंगला गाउँपालिका-२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन्।  ताराखेतमा पर्ने बेनी-दरवाङ सडक, पदमार्ग र मंगला गाउँपालिका-३ सातबिसेको सिमकुना जोड्ने झोलुंगे पुलमा शनिबारदेखि सडकबत्ती बालेर रातको समयमा उज्यालो बनाउन थालेका हुन्।

तिहारमा देउसीभैलो खेलेर जुटाएको ३५ हजार रुपैयाँसहित ७० हजार रुपैयाँको लागतमा १५ वटा सडकबत्ती जडान गरेर ताराखेतलाई झिलीमिली बनाएको स्थानीय युवा अर्जुन पौडेलले बताए।

'देउसीभैलो खेलेर जुटाएको रकम बचाएर सामाजिक काममा लगाएका हौँ,' उनले भने, 'स्थानीय अगुवा र अभिभावकहरूले पनि साथ दिएपछि ताराखेतलाई सुरक्षित बनाउनका लागि सडकबत्ती बाल्ने हाम्रो योजना सफल भएको हो।'

सडकबत्तीका कारण रातको समयमा उज्यालो भएपछि दुर्घटना, चोरी, चितुवालगायत बन्यजन्तुको गतिविधि नियन्त्रणमा सहयोग पुग्नुका साथै स्थानीयवासीलाई हिँडडुल गर्न सहज भएको छ। सुरक्षित महसुस गर्न थालेका छन्। 

सडकबत्ती उपभोक्ता समितिका अध्यक्ष गोकर्ण पौडेलले उपभोक्ताबाट थप ३५ हजार रुपैयाँ जुटाएर योजना सम्पन्न गरिएको जानकारी दिँदै मासिक रूपमा रकम संकलन गरेर सडकबत्तीको महसुल तिर्ने बताए। सडकबत्तीको ताराखेतका बासिन्दा ९६ वर्षीया सन्तकुमारी भट्टचनले शनिबार उद्घाटन गरिन्।

स्थानीय विनोद भट्टचनले ताराखेतका युवायुवती र बालबालिकाले सानो तर रचनात्मक तथा सन्देशमूलक काम गरेको बताए।

अर्को चरणमा फोहर व्यवस्थापन र सरसफाइका लागि ताराखेतको सार्वजनिक स्थानमा फोहर संकलन गर्ने तथा सीसीटीभी क्यामेरा जडान गर्ने योजना रहेको स्थानीय छमलाल पौडेलले बताए। धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडकमा पर्ने ताराखेतमा १७ घरपरिवारको बसोबास छ। रासस


प्रकाशित : आइतबार, पुस २० २०८२११:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend