काडमाडाैं- 'होटेल फरेस्ट इन लिमिटेड' ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने अन्तिम अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले होटेललाई कुल ४० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन स्वीकृति दिएको हो। बोर्डको यो निर्णयसँगै प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने छ।
होटेलले २०८० साल कात्तिक १५ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो। निवेदन दिएको करिब दुई वर्षभन्दा लामो समयको प्रशासनिक र प्राविधिक प्रक्रियापछि मात्र होटेलले यो अनुमति प्राप्त गरेको हो।
यस होटेलमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्काको मुख्य लगानी रहेको छ। राजनीतिक व्यक्तित्वको व्यावसायिक संलग्नता र ठुलो लगानी रहेको यस आयोजनालाई सेयर बजारमा अर्थपूर्ण रूपमा हेरिएको छ।
होटेल फरेस्ट इनको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक मा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। अब कम्पनीले आह्वान पत्र निष्कासन गरी सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि आईपीओ निष्कासन गर्ने छ।