काठमाडौं- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई संयुक्त राज्य अमेरिकाले पक्राउ गरी न्युयोर्क पुर्याएको दाबीपछि अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो तरंग सिर्जना भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत उक्त दाबी सार्वजनिक गर्दै भेनेजुएलामा सञ्चालन गरिएको अमेरिकी सैन्य अपरेसन सफल भएको बताएका छन्।
अमेरिकाले भेनेजुएलाको राजधानी कराकाससहित देशका विभिन्न रणनीतिक स्थानमा भारी हवाई आक्रमण र विशेष सैन्य कारबाही सञ्चालन गरेको थियो। उक्त कारबाहीका क्रममा राजधानी क्षेत्रमा विस्फोटका आवाज सुनिनुका साथै केही स्थानमा विद्युत् सेवा अवरुद्ध भएको र जनजीवन प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसै सैन्य कारबाहीपछि मादुरो दम्पतीलाई काबुमा लिई देशबाहिर निकालिएको र न्युयोर्कस्थित संघीय हिरासत केन्द्रमा ल्याइएको जानकारी अमेरिकी पक्षले सार्वजनिक गरेको छ।
अमेरिकी न्याय विभागका अनुसार मादुरो र उनकी पत्नीलाई नार्को–आतङ्कवाद, लागूऔषध तस्करी तथा संगठित अपराधसँग सम्बन्धित गम्भीर अभियोग अन्तर्गत अदालतमा पेश गर्ने तयारी गरिएको छ। उनीहरूलाई न्युयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमार्फत संघीय हिरासतमा लगिएको बताइएको छ। मादुरोमाथि यसअघि नै सन् २०२० मा अमेरिकी अदालतमा अभियोग दायर गरिएको थियो, जसमा कोकिन तस्करीलाई अमेरिकी भूमिसम्म पुर्याउने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाइएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मादुरोलाई अमेरिका ल्याइनुलाई “न्यायको विजय”को संज्ञा दिँदै अन्य सहयोगीहरूलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्। अमेरिकी प्रशासनले यो कदम अन्तर्राष्ट्रिय अपराधविरुद्धको कारबाही भएको दाबी गरिरहेको छ।
यता, मादुरो पक्राउ परेपछि भेनेजुएलामा भने तीव्र प्रतिक्रिया देखिएको छ। भेनेजुएलाका उच्च सरकारी अधिकारीहरूले अमेरिकाको कदमलाई अवैध सैन्य हस्तक्षेप र संप्रभु राष्ट्रका राष्ट्राध्यक्षमाथिको अपहरणको रूपमा व्याख्या गरेका छन्। उपराष्ट्रपति तथा अन्य वरिष्ठ अधिकारीहरूले मादुरो अझै देशका वैध राष्ट्रपति भएको दाबी गर्दै अमेरिकासँग प्रमाण प्रस्तुत गर्न माग गरेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिक्रियाहरू विभाजित देखिएका छन्। केही देश र नेताहरूले अमेरिकाको कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघीय सिद्धान्तको उल्लंघन भनेका छन् भने, केहीले गम्भीर अपराधका आरोप लागेका नेतामाथि गरिएको कानुनी कारबाहीको रूपमा समर्थन जनाएका छन्। यस घटनापछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन माग उठेको छ भने भेनेजुएलाको भविष्य राजनीतिक दिशाबारे विश्वव्यापी चासो बढेको छ।