बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्यटकीय क्षेत्र चखेवामा सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्प पुनर्स्थापना

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १९ २०८२
पर्यटकीय क्षेत्र चखेवामा सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्प पुनर्स्थापना

भोजपुर- यहाँको टेम्केमैयुङ गाउँपालिका-४ चखेवामा सशस्त्र प्रहरी बल नेपालको अस्थायी वेश क्याम्प पुनर्स्थापना गरिएको छ। स्थानीय तह र नागरिकको निरन्तर पहल तथा मागपछि पुनः अस्थायी बेस क्याम्प स्थापना गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर-५ गुल्म (भोजपुर) अन्तर्गतको उक्त क्याम्प गत भदौ महिनादेखि हटाइएको थियो। जेनजी आन्दोलनपश्चात् गत भदौ महिनामा चखेवा क्षेत्रमा रहेको सशस्त्र प्रहरीको बेस क्याम्प हटाइएपछि सुरक्षा संवेदनशील मानिने चखेवा तथा मुन्दुम पदमार्ग आसपासको क्षेत्रमा स्थानीयवासीले सुरक्षा चुनौती महसुस गर्दै आएका थिए। 

सशस्त्र प्रहरी बल-५ गुल्म भोजपुरका प्रमुख दिव्यराज कोइरालाले यसअघि संगठनको निर्णयअनुसार क्याम्प जिल्लामा गाभिएको भए पनि वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै पुनर्स्थापना गरिएको जानकारी दिए। 
 
उनले सीमा सुरक्षासँगै स्थानीय नागरिकको जिउधनको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको उपस्थिति अपरिहार्य रहेको बताए। पुस १९ गतेदेखि क्याम्प पूर्ण रूपमा सञ्चालनमा आउने उनले जानकारी दिए। 

मुन्दुम पदमार्गसँगै भोजपुर र खोटाङ जिल्लाको सीमा क्षेत्रसमेत पर्ने भएकाले सुरक्षा सुनिश्चित गर्न क्याम्प पुनर्स्थापना गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए। जिल्लादेखि केन्द्रसम्म निरन्तर समन्वय र पहलपछि क्याम्प पुनर्स्थापना गर्न सफल भएको उनको भनाइ छ। विगतमा स्थानीयस्तरमै पाँच रोपनी जग्गा उपलब्ध गराएर क्याम्प स्थापना गरिएको जानकारी दिए। 

'चखेवामा पुनः सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना भएको छ,' अध्यक्ष बस्नेतले भने, 'विगतदेखि सञ्चालनमा रहेको क्याम्प हटेपछि पुनः स्थापना गर्न निकै मेहनत गर्नुपर्‍यो। जिल्लादेखि केन्द्रसम्म समन्वय गरेर यहाँको सुरक्षा संरचना पुनर्स्थापना गर्न सफल भएका छौँ।'

क्याम्प पुनः सञ्चालनमा आएपछि चोरी तथा अवैध गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन र पर्यटकको सुरक्षामा टेवा पुग्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्। अस्थायी बेस क्याम्प स्थापनासँगै चखेवा तथा आसपासका बासिन्दाले राहत महसुस गरेका छन्। 

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले क्याम्प पुनर्स्थापनाले गाउँपालिकाको समग्र सुरक्षा प्रणालीलाई थप मजबुत बनाउने बताइन्। चखेवा पर्यटकीय क्षेत्र रहेकाले यहाँ सुरक्षाको उपस्थिति अपरिहार्य रहेको उनको भनाइ छ। रासस


प्रकाशित : शनिबार, पुस १९ २०८२१८:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend