काठमाडौं- काठमाडौं महानगरपालिका-८ ले १ सय ५० रुपैयाँमै एक्स-रे सेवा सुरु गरेको छ ।
जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स-रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र काठमाडौं-८ का वडाध्यक्ष एवं काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले संयुक्त रूपमा सेवाको उद्घाटन गरेका हुन्।
उक्त सेवा सञ्चालनका लागि ३२ लाख रुपैयाँमा अत्याधुनिक मेसिन एक्स-रे मेसिन खरिद गरिएको हो। उपप्रमुख डंगोलले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई सरल, सहज र गुणस्तरीय बनाउँदै लैजाने क्रममा एक्स-रे सेवा थप गरिएको बताइन्।
'माग र आवश्यकताका आधारमा सेवालाई विस्तार र सुदृढ बनाउँदै लैजानेछौँ। आधारभूत स्वास्थ्य सेवाबाट कसैले पनि वञ्चित हुनु नपर्ने अवस्था बनाउँछौँ,' उनले भनिन्। वडाध्यक्ष संगतले मानव संशाधन, प्रविधि र उपकरण थप गर्दै लैजाने योजना रहेको बताए।
उनका अनुसार काठमाडौं महानगरपालिकामा सञ्चालन भएको एक्स-रे सेवा प्रदान गर्ने यो पहिलो वडा हो।
विभागका भण्डार शाखा प्रमुख कमलप्रसाद भट्टराईका अनुसार वडा नम्बर ७, ८, १०, १२, १४, १६, १९, २६, २७ र ३२ गरी १० वटा वडामा एक्स-रे सेवा जडान हुँदै छ। यसका लागि १० जना रेडियोग्राफर नियुक्त गरिसकिएको छ। रासस