कैलाली- नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडी सिमसारमा जलपन्क्षी गणना सुरु भएको छ। जैविक विविधताले महत्त्वपूर्ण घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोली आजदेखि गणनामा खटिएको छ। टोलीका अनुसार यही पुस २१ गते सम्म घोडाघोडीमा जलपक्षी गणना हुनेछ।
चरा संरक्षण नेटवर्क कैलालीले विगत लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आइरहेको छ। घोडाघोडीमा जलपक्षी हिउँद र वर्षा गरी प्रत्येक वर्ष दुई पटक गणना गरिँदै आइएको चरा संरक्षण नेटवर्क कैलालीका उपाध्यक्ष नवराज न्यूरेले जानकारी दिए।
उनका अनुसार गणनापछि उनीहरूको अवस्था र चुनौती पत्ता लगाइनेछ। चरा संरक्षण नेटवर्क कैलालीका सचिव राम कुमारले यहाँ जलपक्षीको संख्या घट्दै गएको जानकारी दिए।
घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले घोडाघोडीमा जलपक्षीको संख्या घट्दै जानुको कारण चोरी सिकारी रहेको बताए।
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्यायले सिमसार क्षेत्र घोडाघोडी प्राकृतिक सम्पत्ति भएकाले यसलाई सबै मिलेर जोगाउनुपर्ने बताए।
उनले भने, 'घोडाघोडी क्षेत्र जैविक विविधताले भरिएको क्षेत्र हो, चराहरूको वासस्थानलाई पनि बचाउँदै जैविक विविधतालाई संरक्षण गर्दै यहाँ संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ।'
चराहरूको संरक्षणका लागि उनीहरूको बास स्थान जोगाउनुपर्ने घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले बताए। वर्ड स्याङ्क्चुरी घोषणामा मात्रै सीमित नराखी त्यसलाई सबै मिलेर संरक्षण गर्नुपर्ने उनले बताए।
नेपालमै सबैभन्दा धेरै ताल तलैया भएको जिल्लाका रूपमा कैलाली चिनिन्छ। त्यसमध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा रहेको सबैभन्दा ठूलो प्राकृतिक ताल हो।
घोडाघोडी ताल क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल छन्। जसमध्ये घोडाघोडी र नकरोड ताल चराको वासस्थानका लागि सबैभन्दा उपयुक्त मानिने चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरी बताउँछन्। चौधरीका अनुसार घोडाघोडीमा पहिले २ हजार २२ सयको हाराहारी जलपक्षी रहेकामा त्यो संख्या गत वर्ष ११ सयमा सीमित भएको थियो।
'घोडाघोडीको सूचक प्रजातिको रूपमा रहेको हरिहाँसको संख्यासमेत घट्दै गएको छ। बच्चा कोरल्ने र हुर्काउनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा हरिहाँसको वासस्थान असुरक्षित बन्दै, आहारा घट्दै गएपछि यसको संख्या घट्दै गएको छ,' अध्यक्ष चौधरीले भने।
घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्त्वपूर्ण वासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो। यहाँ तीन सय ८१ प्रजातिका चरा पाइन्छन्। रासस