सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

कञ्चनपुरमा जलपन्छी गणना सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १९ २०८२
कञ्चनपुरमा जलपन्छी गणना सुरु

चराविज्ञ डगौराका अनुसार कञ्चनपुरका सिमसार क्षेत्रहरू जलपन्छीका लागि महत्त्वपूर्ण भए पनि पछिल्लो समय विभिन्न चुनौतीहरू देखिन थालेका छन्। सिमसार क्षेत्र अतिक्रमण, अवैज्ञानिक रुपमा माछापालन, नदीजन्य पदार्थको दोहन, मानवीय गतिविधि, प्रदूषण तथा जलवायु परिवर्तनका असरले जलपन्छीको बासस्थान खुम्चिँदै गएको उनको भनाइ छ।

कञ्चनपुर- सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पन्छीहरूको अवस्था र संख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु गरिएको छ।

नेपाल पन्छी संरक्षण संघ (बीसीएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपन्छी गणनाका लागि गणक परिचालन गरिएको जनाइएको छ। 

गणनामा बीसीएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छीविद् संघ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एशोसिएशन तथा कञ्चनपुर पन्छी संरक्षण समूहका प्रतिनिधि संलग्न छन्।

नेपाल पन्छी संरक्षण संघका वरिष्ठ चरा विज्ञ हिरुलाल डगौराका अनुसार वाइनाकुलर, दूरबिन, क्यामेरा, जीपीएसलगायतका उपकरणको प्रयोग गरी २० भन्दा बढी गणकमार्फत जलपन्छी गणना भइरहेको छ। हिँडेर पुग्न नसकिने ताल तलैया क्षेत्रमा हात्तीको प्रयोग गरी गणना गरिनेछ।

उनका अनुसार निकुञ्जभित्र जलपन्छीका लागि प्रसिद्ध शिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी-बढनी ताल, राधापुर सिमसार, झिलमिला तथा रतनपुर सिमसारमा गणना भइरहेको छ । त्यसैगरी निकुञ्ज बाह्य क्षेत्रमा महाकाली नदी, पुरैनी ताल, बन्दा ताललगायत सिमसार क्षेत्रमा पनि गणना गरिनेछ। 

गणनाका क्रममा जलपन्छीका प्रजाति, संख्या, सम्भावित खतरा, मानव गतिविधि र बासस्थानसँग सम्बन्धित समस्याहरूको विवरण संकलन गरिनेछ।

जलपन्छी गणना प्रत्येक वर्षझैँ यस वर्ष पनि जनवरीको पहिलो शनिबारदेखि गरिनेछ। यस वर्ष यही पुस १९ देखि माघ ४ गतेसम्म सञ्चालन हुनेछ।

चराविज्ञ डगौराका अनुसार कञ्चनपुरका सिमसार क्षेत्रहरू जलपन्छीका लागि महत्त्वपूर्ण भए पनि पछिल्लो समय विभिन्न चुनौतीहरू देखिन थालेका छन्। सिमसार क्षेत्र अतिक्रमण, अवैज्ञानिक रुपमा माछापालन, नदीजन्य पदार्थको दोहन, मानवीय गतिविधि, प्रदूषण तथा जलवायु परिवर्तनका असरले जलपन्छीको बासस्थान खुम्चिँदै गएको उनको भनाइ छ।

'केही वर्षयता कञ्चनपुरका सिमसार क्षेत्रमा जलपन्छीको संख्या घट्दो क्रममा देखिन थालेको छ,' उनले भने, 'विशेषगरी आगन्तुक जलपन्छीको आगमनमा उतारचढाव देखिएको छ, जसको प्रमुख कारण बासस्थानको असुरक्षा रहेको छ।'

पहिले एकै तालमा ७० बढी प्रजाति जलपन्छी देखिने गरेकोमा हाल त्यो संख्या आधाले घटेको उनले उल्लेख गरे।

'जलपन्छी जोगाउनका लागि ताल तलैया र सीमसार क्षेत्रमा पछिल्लो अवस्थामा भइरहेको अतिक्रमण हटाउनुपर्ने देखिन्छ,' उनले भने। चरा विज्ञ डगौराका अनुसार नेपाल सेन्ट्रल एसियन फ्लाइवेअन्तर्गत पर्ने महत्त्वपूर्ण देश भएकोले एसिया, युरोप तथा साइबेरियाबाट आउने प्रवासी जलपन्छीहरू नेपालका सिमसार क्षेत्रमा आश्रित रहन्छन्।

जलपन्छी गणनाले राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा संरक्षण रणनीति तय गर्न महत्त्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको उहाँको भनाइ छ। रासस  


प्रकाशित : शनिबार, पुस १९ २०८२१५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend