सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

गुल्मीमा चरा प्रजातिको संख्या ३५५ पुग्यो

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १९ २०८२
गुल्मीमा चरा प्रजातिको संख्या ३५५ पुग्यो

विश्वमा पाइने दुर्लभ चराहरूमध्ये गुल्मीमा ६ प्रजातिका चराहरू पाइन्छन्। ती चराहरूमा रेसुंगा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डंगर गिद्द, सेतो गिद्द, सुन गिद्द र गोमायो माहाचिल छन्। काँडे भ्याकुर रेसुंगा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ।

गुल्मी- थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरूको संख्या जम्मा ३ सय ५५ पुगेको छ। नेपाल पन्छी संरक्षण संघले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन्।    

जिल्लाको रेसुंगा, मदाने र थाप्ले सत्यवतीको वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणमा उक्त चराहरू फेला परेको नेपाल पन्छी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए। सर्वेक्षणको क्रममा रेसुंगा वन संरक्षण क्षेत्र, मदाने वन संरक्षण क्षेत्र र थाप्ले सत्यवतीे वन संरक्षण क्षेत्रमा नयाँ २५ प्रजातिका चराहरू फेला परेको परियोजना अधिकृत भट्टराईले बताए।
      
यसअघि रेसु्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुई पटक चरा सर्वेक्षण गरिँदै आएकामा यस पटकको सर्वेक्षणमा थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा पनि चरा सर्वेक्षण गरिएको थियो। नयाँ फेला परेका चराका प्रजातिहरुमा तिलहरी, मोटो ठूँडे पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपंख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेको जनाइएको छ। 
      
विश्वमा पाइने दुर्लभ चराहरूमध्ये गुल्मीमा ६ प्रजातिका चराहरू पाइन्छन्। ती चराहरूमा रेसुंगा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डंगर गिद्द, सेतो गिद्द, सुन गिद्द र गोमायो माहाचिल छन्। काँडे भ्याकुर रेसुंगा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ। 

नेपालमा पाइने ९ सय ३ प्रजातिका चरामध्ये गुल्मीमा करिब ४० प्रतिशत चरा फेला परेको नेपाल पन्छी संरक्षण संघले जनाएको छ। संघले विभिन्न समयमा गरेकोे पन्छी सर्वेक्षणअनुसार रेसुंगा वन क्षेत्रमा २ सय ७६ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २ सय ८९ प्रजाति र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा १९६ प्रजातिका चरा फेला परेका छन्।

तीनवटै वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्वेक्षणअनुसार जम्मा ३ सय ५५ प्रजातिका चराहरूको तथ्यांक अभिलेख गरिएको छ। 

संघले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरूलाई वन जंगलको संरक्षण र सम्वद्र्धनसँगै जीविकोपार्जनमा टेवा पुर्‍याउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। जिल्लामा चरा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए। रासस 


प्रकाशित : शनिबार, पुस १९ २०८२१४:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend