बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

व्यवसायी सचिन ढकालले गरे रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिने घोषणा

शनिबार, पुस १९ २०८२
व्यवसायी सचिन ढकालले गरे रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिने घोषणा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा परेका युवा व्यवसायी सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।

एफसी चितवनका अध्यक्ष ढकालले नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिने जानकारी गराएका हुन्।

युवाहरूको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति निरन्तर प्रतिबद्ध रहने जनाउँदै उनले आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न आवश्यक परेमा सधैँ तत्पर रहेको पनि बताएका छन्।

'उद्यमशीलताको प्रवर्द्धनमार्फत सामाजिक रूपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरू अघि सरिरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु,' ढकालले भनेका छन्, 'तथापि नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यसपटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु।'

रास्वपाले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा खस-आर्य क्लस्टरतर्फ ढकालको नाम दोस्रो नम्बरमा राखेको थियो। 

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन खेलकुदका अलावा पर्यटन तथा हस्पिटालिटी व्यवसायमा संलग्न छन्। उनको व्यवस्थापनमा इला कम्फर्ट होटल सञ्चालनमा छ। 


प्रकाशित : शनिबार, पुस १९ २०८२११:२३
  • सम्बन्धित विषय:

  • # सचिन ढकाल


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend