काठमाडौं- बुद्ध एयरले शुक्रबार राति झापाको भद्रपुर विमानस्थलमा कम्पनीको जहाज रनवेबाट चिप्लिएर भएको दुर्घटनाको छानबिनका लागि सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ।
कम्पनीले दुर्घटित जहाजमा सवार ५१ जना यात्रुमध्ये सामान्य घाइते भएका यात्रुहरू प्राथिमक उपचारपछि घर फर्किसकेको जानकारी दिँदै दुर्घटनाको छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई सहयोग गर्न तयार रहेको जनाएको हो।
'जहाजमा सवार ५१ जना यात्रुमध्ये सामान्य घाइते हुनुभएका यात्रुहरू प्राथमिक उपचारपछि सकुशल घर फर्किसक्नुभएको छ। यस घटनाको विस्तृत छानबिनका लागि हामी नागरिक उड्डयन प्राधिकरणलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ,' बुद्ध एयरले भनेको छ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज शुक्रबार राति ९:१० बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेको पूर्वतर्फ ३ सय मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको थियो।
उक्त जहाजमा ५१ जना यात्री, ४ जना चालक दलका सदस्य र १ जना विमानका इन्जिनियर थिए। जहाज काठमाडौंबाट भद्रपुरका लागि शुक्रबार राति ८:२३ बजे उडेको थियो।
