बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेलद्वारा देशभर २५० नयाँ फोरजी टावर थप, २२ सय साइटको क्षमता विस्तारपछि नेटवर्कमा सुधार

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १८ २०८२
एनसेलद्वारा देशभर २५० नयाँ फोरजी टावर थप, २२ सय साइटको क्षमता विस्तारपछि नेटवर्कमा सुधार

कम्पनीले देशका विभिन्न भागमा २५० वटा नयाँ टावरहरू सञ्चालनमा ल्याउनुका साथै २ हजार २० सय वटा पुराना साइटहरूको क्षमता अभिवृद्धि गरेको छ।

काठमाडौं-एनसेलले देशभर आफ्नो फोरजी सेवालाई प्रभावकारी बनाउने क्रममा गएको वर्ष २०२५ मा सफलता हासिल गरेको छ।

कम्पनीले देशका विभिन्न भागमा २५० वटा नयाँ टावरहरू सञ्चालनमा ल्याउनुका साथै २२ सय वटा पुराना साइटहरूको क्षमता अभिवृद्धि गरेको छ। 

विशेषगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशलाई केन्द्रित गरी अगाडि बढाइएको यो अभियान अन्तर्गत सातै प्रदेशका दुर्गम तथा सहरी क्षेत्रमा पहुँच पुर्‍याइएको कम्पनीले जनाएकाे छ। नयाँ टावरहरूको संख्याका आधारमा मधेश प्रदेशमा सबैभन्दा धेरै १०० भन्दा बढी टावर थपिएका छन् भने लुम्बिनीमा ४० र कोशीमा ३५ भन्दा बढी टावर सञ्चालनमा आएका छन्। यसैगरी कर्णालीको दैलेख, रुकुम पश्चिम र सल्यानका साथै सुदूरपश्चिमका डोटी, कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरूमा पनि नयाँ पूर्वाधार निर्माण गरी फोरजी सेवालाई सुदृढ बनाइएको छ।

नेटवर्क सुधारको यो प्रयासले स्थानीय बासिन्दाको दैनिक जीवन र सञ्चारमा सकारात्मक परिवर्तन ल्याएको छ। जनकपुरकी विद्यार्थी अनिशा मण्डलका अनुसार नयाँ टावर थपिएपछि घरभित्रै पनि इन्टरनेटको गति राम्रो भएको छ, जसले अनलाइन अध्ययन, शैक्षिक सामग्री खोज्न र विदेशमा रहेका आफन्तसँग कुरा गर्न सहज बनाएको छ। एनसेलले यीमध्ये १९७ वटा टावरहरू पछिल्लो साढे दुई महिनामा स्थापना गरेको हो भने बाँकी ५३ वटा टावरहरू उपकरण आयातमा प्रतिबन्ध रहेको कठिन समयमा पनि स्टक र स्पेयर सामानहरूको अधिकतम प्रयोग गरी सञ्चालनमा ल्याएको थियो।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले यो विस्तारलाई केवल गतिको विषय मात्र नभई डिजिटल अवसर र भरोसाको रुपमा व्याख्या गर्नुभएको छ। उहाँका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको सहजीकरणसँगै रोकिएका कामहरूले तीव्रता पाएका हुन्। २०७४ जेठबाट फोरजी सेवा सुरु गरेको एनसेलले हाल ७७ वटै जिल्लाका ९५ प्रतिशतभन्दा बढी जनसंख्यामा आफ्नो पहुँच पुर्‍याइसकेको छ। यो पछिल्लो सुधारले आधारभूत सञ्चारदेखि आधुनिक डिजिटल शिक्षा र व्यवसायसम्मका क्षेत्रमा ग्राहकलाई थप सबल बनाउने विश्वास कम्पनीले लिएको छ।


प्रकाशित : शुक्रबार, पुस १८ २०८२१७:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend