गण्डकी- कास्कीको मादी गाउँपालिका-१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा केन्द्र सञ्चालनमा ल्याइएको हो
अंग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसर पारी बिहिबारदेखि केन्द्र सञ्चालनमा आएको मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए। उनका अनुसार केन्द्रमार्फत यहाँ आउने पर्यटकलाई उक्त क्षेत्रको पर्यटकीय जानकारीसँगै यहाँस्थित होटेल तथा (होमेस्टे) घरबासलगायत विषयमा जानकारी प्रदान गरिने छ।
केन्द्रमा एक्यापबाट एक र स्थानीय एकजना कर्मचारी व्यवस्थापन गरिने छ। केन्द्र सञ्चालनसँगै सिक्लेस आउने आन्तरिक तथा बाह्य पर्यटकको यकिन तथ्यांक राखिने वडाध्यक्ष गुरुङले बताए।
वरिपरिबाट जंगलले घेरिएको बस्ती, ढुंगाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायका धार्मिक आस्थाका पवित्र कोइबोले सजिएको छ। यो गाउँ प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ।
सिक्लेस नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा समेत परिचित छ। पोखराको काहुँखोलादेखि ३७ किलोमिटर दूरी र समुद्री सतहबाट करिब एक हजार ९५० मिटरको उचाइमा रहेको सिक्लेसबाट गुरुङ सम्पदा पदमार्गअन्तर्गत कफुचे, कोरी, क्होलासोँथर, दूधपोखरीलगायत गन्तव्यमा पदयात्रामार्फत जान सकिन्छ। रासस
