सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

महिला उद्यमशीलता प्रवर्द्धन गर्दै फुङलिङ नगरपालिका

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १७ २०८२
महिला उद्यमशीलता प्रवर्द्धन गर्दै फुङलिङ नगरपालिका

फुङलिङ नगरपालिकाले स्थानीय उद्यमीहरूद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको छ। उत्पादित सामग्री बजारीकरणमा नगरपालिकाले सहजीकरण सुरु गरेको हो।

ताप्लेजुङ- यहाँको फुङलिङ नगरपालिकाले स्थानीय उद्यमीहरूद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको छ। उत्पादित सामग्री बजारीकरणमा नगरपालिकाले सहजीकरण सुरु गरेको हो। विगत दुई वर्षदेखि नगरपालिकाले अल्लो संकलन, प्रशोधन तथा कपडा बुन्ने तालिम आयोजना गर्दै आएको छ।

वडा कार्यालयको समन्वयमा रेड पाण्डा नेटवर्क, हिमाली संरक्षण मञ्च, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला वन कार्यालय र फुङलिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा गएको दुई वर्ष तालिम सञ्चालन गरिएको थियो।

तालिममा सहभागी महिलाहरूले फरुम्बो अल्लो कपडा उद्योग दर्ता गरेर सञ्चालनमा ल्याएका छन्। १६ महिला आबद्ध भई सञ्चालन गरिएको उद्योगले विभिन्न किसिमका सामग्री उत्पादन गर्न थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए।

उद्यमीहरूलाई प्रोत्साहन गर्न स्थानीय सरकारले सहयोग गरेको वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूले बताए। लिम्बूका अनुसार उद्योगमा उत्पादित झोला फुङलिङ नगरपालिका-१० फुरुम्बुका विद्यार्थीलाई वितरण गरिएको छ। वडा कार्यालयले खरिद गरी बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क वितरण गरेको हो।

वडाको चालु आर्थिक वर्षको करिब ५ लाख रुपैयाँ बजेटमा झोला खरिद गरी विद्यार्थीलाई वितरण गरिएको थियो। फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले तालिममा सिकेका सीपको सदुपयोग गर्न अनुरोध गरे। उद्योगमा कपडा, झोला, टोपी, गलबन्दी, रुमाललगायतका सामग्री उत्पादन हुँदै आएको छ। रासस


प्रकाशित : बिहीबार , पुस १७ २०८२१६:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend