म्याग्दी- तेस्रोपटक थपिएको समयअवधि पूरा हुन करिब ६ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरि गाउँपालिका-७ ताकममा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ।
तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणको बाँकी ६ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौती छ। गत साउन महिनादेखि रोकिएको भवन निर्माण मध्यहिँउदसम्म पनि सुरु नभएको म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको धवलागिरि बजार इकाइका सभापति तेजेन्द्र थापाले बताए।
भवन निर्माण पूरा नहुँदा म्याग्दीका अन्य स्थानीय तहको तुलनामा भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरिको ताकममा अस्पताल सञ्चालन गर्ने योजना कार्यान्वयनमा ढिलाइ भएको उनले गुनासो गरे।
भवन निर्माणका लागि विसं २०७८ वैशाखमा निर्माण कम्पनीले ४ करोड ७९ लाख ४० हजार ३ सय ३४ रुपैयाँमा धवलागिरि गाउँपालिकासँग ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।
पाँच शय्या क्षमताको अस्पतालका लागि १६ कोठे दुई तले भवन निर्माण गर्न लागिएको हो। आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्पप्रतिरोधी क्षमताको अपांगतामैत्री भवन बनाउन लागिएको हो।
धवलागिरि गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलका अनुसार हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको उक्त योजनाको तेस्रोपटक थप भएको म्याद आगामी असार महिनासम्म छ। मुख्य भवनको ढलान सकिए पनि फिनिसिङको काम सुरु भएको छैन।
धवलागिरि गाउँपालिका-७ का वडाध्यक्ष अशोक खत्रीले ताकम आधारभूत अस्पताल भवनका ठेकेदारलाई काममा फर्काउन ताकेता गरिएको बताए। 'आर्थिक वर्षको अन्तिमतिर आउने ठेकेदार अन्य समयमा सम्पर्कविहीन हुन्छन्,' उनले भने, 'बैंक धरौटी जफत र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने विषयमा कार्यपालिकामा छलफल चलाएका छौँ।'
निर्माण कम्पनीका प्रतिनिधि दीपक अदैले बर्खायाममा ढुवानी र प्रतिकुल मौसमका कारण रोकिएको अस्पताल भवन निर्माण कार्यलाई केही दिनमै सूचारु गराउन मजदुर, निर्माण सामग्री ल्याएर आउने प्रतिबद्धता जनाए।
भवन निर्माणको सुरुआतमा स्थानीय समस्याले गर्दा ढिलाइ भए पनि संघीय सरकारले पठाउने बजेटअनुसारको काम गर्दै आएको उनको भनाइ छ। सरकारले भुक्तानीको लागि बजेट उपलब्ध गराउन सके चालु आर्थिक वर्षमै भवन सम्पन्न गर्ने अदैले बताए।
विसं २०७७ पुष २२ गते तत्कालीन प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले भवन शिलन्यास गरेका थिए। संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार ताकममा भवन निर्माण हुन लागेको हो। रासस
