काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल उत्पादनकर्ता बन्नुको सट्टा छिमेकीको बजार मात्र बनिरहेको बताएका छन्।
महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय संवाद कार्यक्रममा उनले नेपालले उपलब्ध बजारको यथोचित लाभ लिन नसकेको बताएका हुन्।
'हाम्रो दैलोमै विश्वको करिब ४० प्रतिशत बजार छ, तर दुर्भाग्यवश हामी उत्पादनकर्ता बन्नुको सट्टा छिमेकीको बजार मात्र बनिरहेका छौँ,' वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने।
उनले निजी क्षेत्रको उचित सम्मान र संरक्षण नहुँदा देशको आर्थिक गति नै अवरुद्ध भएको समेत बताए। यसले नेपाल अवसरको देशभन्दा पनि विदेश जानैपर्ने देश हो भन्ने गलत भाष्यलाई बल दिएको उनको धारणा छ।
'निजी क्षेत्रले सम्मानसाथ, सुरक्षित र निर्वाध रूपमा काम गर्न सक्ने वातावरण नहुँदा हामी धेरै अवसरबाट पछि परिरहेका छौँ। यही कारण पुँजी निर्माण गर्ने वर्गको सम्मान र संरक्षण नहुँदा देशको आर्थिक गति अवरुद्ध भएको छ,' उनले भने, 'अब यस अवस्थाबाट माथि उठेर उत्पादन, उत्पादकत्व र प्रतिस्पर्धामा आधारित अर्थतन्त्रतर्फ अग्रसर हुनु हाम्रो साझा दायित्व हो।'
उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग, नीतिगत स्थिरता, जवाफदेहिता र पारदर्शिता अब विकल्प नभई अपरिहार्य आवश्यकता भएको श्रेष्ठले बताए।
निजी क्षेत्रको तर्फबाट उत्पादनशील क्षेत्र विस्तार, रोजगारी सिर्जना र लगानीमैत्री वातावरण निर्माणका लागि महासंघले सरकारसँग सहकार्य गर्दै नीतिगत सुधारका पहलहरू अघि सारेको उनले जानकारी दिए।
आर्थिक वृद्धिको सम्भावनासहित सार्वजनिक गरिएका विभिन्न पहलहरूले अब अर्थतन्त्रलाई नयाँ दिशातर्फ डोर्याउने आधार तयार हुँदै गएको संकेत गरेको उनले बताए। यद्यपि, नेपालको अर्थतन्त्र अझै पनि उच्च करका दर, भौगोलिक चुनौती, नीतिगत अस्पष्टता र अपारदर्शिताका कारण महँगो बन्दै गएको उनको भनाइ छ।
उनले नेपालमा विभिन्न समयमा क्रान्तिहरू भए पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन नआएको बताए। निजी क्षेत्रलाई सहयोग हुने गरी व्यावसायिक नीति र वातावरण हालसम्म पनि बन्न नसकेको श्रेष्ठको गुनासो छ।
यद्यपि, जेनजी आन्दोलनपछिको परिवर्तित अवस्थापछि भने निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक हुनेमा आफूहरू आशावादी रहेकाे उनले बताए।
अर्थतन्त्रमा ८१ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्र असुरक्षित भएमा यसको असर सरकार, आम सर्वसाधारण र मुलुकलाई नै पर्ने भन्दै उनले अहिले नेपालको अर्थतन्त्र निर्णायक मोडमा उभिएको बताए।