बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सन् २०२५ मा ६ लाख ३४ हजार पर्यटकले गरे बन्दीपुर भ्रमण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १६ २०८२
सन् २०२५ मा ६ लाख ३४ हजार पर्यटकले गरे बन्दीपुर भ्रमण

डिसेम्बर ३१ का दिन सडक खाना महोत्सवसहित विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर भ्रमण वर्ष समापन गर्न आयोजक पक्ष लागिपरेको छ।

तनहुँ- तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोबर पर्यटकले भ्रमण गरेको पाइएको छ।

आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको बन्दीपुरमा ६ लाख ३४ हजार पर्यटक पुगेको संयोजक बैंसबहादुर गुरुङले जानकारी दिए।

बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक गुरुङका अनुसार यस अवधिमा एक लाख विदेशीसमेत गरी चार लाख ५३ हजार पर्यटक बन्दीपुरमा बास बसेका थिए। उनले बन्दीपुरमा वजभोज खान आउने, घुमेर फर्किने पर्यटकको सङ्ख्या करिब दुई लाखभन्दा केही कम रहेको जानकारी दिए।

बन्दीपुरमा सन् २०२५ र २०२६ मा गरी पाँच लाख पर्यटक बन्दीपुर भित्र्याउने योजना रहेकामा सन् २०२५ मा नै पूरा भएका स्थानीय होटल तथा पर्यटन व्यावसायी खुसी भएका छन्।

'दुई वर्षमा पाँच लाख ल्याउने भनेर सोचेका थियौँ, तर एक वर्षमा नै लक्ष्य पूरा भयो', भ्रमण वर्ष संयोजक गुरुङले भने, 'काठमाडौँबाट पोखरा, पोखराबाट चितवन वा काठमाडौँ र चितवनबाट पोखरा जाँदा, आउँदा एकपटक बन्दीपुर बसौँ भन्ने भावना बढेको पायौँ।'

आँबुखैरेनी-पोखरा सडक विस्तारको काम लगभग सकिने चरणमा पुग्दा पर्यटकलाई बन्दीपुर आउन पनि सहज भएको व्यवसायीको भनाइ छ। भ्रमण वर्षमा बन्दीपुरको प्रचारप्रसारको काम पनि राम्रो भएकाले पर्यटक बन्दीपुर आएको विश्वास उनीहरुको छ।

बन्दीपुर होटल सङ्घ अध्यक्ष फूलमती थापाले भ्रमण वर्षमा आउने पर्यटकलाई कुनै पनि प्रकारको असुविधा नहोस् भनेर सबै होटल व्यवसायी अति नै जिम्मेवारपूर्ण ढङ्गले व्यवस्थापनमा लागेको बताए।

स्थानीय रैथाने खानादेखि अतिथि सत्कारले पर्यटक खुसी बनेको उल्लेख गर्दै उनीहरूले भ्रमण वर्षबाट यहाँका होटलले आफूलाई अझै स्तरोन्नति गर्ने र सुविधा थप्दै लैजाने सोचको विकास गरेको जानकारी दिए।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर भ्रमण वर्षको प्रवर्द्धन तथा अन्य सहयोगमा पालिकाले सक्दो सहयोग गरेको बताए। बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा चिनाउनका लागि भ्रमण वर्ष निकै सार्थक र फलदायी भएको थापाको भनाइ छ।

उनले बन्दीपुरको प्राकृतिक सुन्दरता र यहाँको मौलिक कला संस्कृति हेर्न पर्यटकहरु पटकपटक आउने गरेको आफूले पाएको बताए। सामान्य खर्च गर्नसक्नेदेखि महँगो रकम तिर्नसक्ने दुवै पर्यटकका लागि बन्दीपुर उपर्युक्त गन्तव्य भएको अध्यक्ष थापाको भनाइ छ।

आज डिसेम्बर ३१ का दिन सडक खाना महोत्सवसहित विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर भ्रमण वर्ष समापन गर्न आयोजक पक्ष लागिपरेको छ।

स्थानीय टुँडिखेल, सहिद पार्क, सिद्ध गुफा, थानीमाई, खड्गमाई र विद्यवासिनी मन्दिर, मणि मुकुन्देश्वरी पदमार्ग, मिनी ग्रेटवाल, रानीवन, तीनधारा वनभोज स्थल, गुम्बा, रामकोट, कोरीखा, धरमपानी होमस्टे, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, मौरीपालन र च्याउ उत्पादन केन्द्र बन्दीपुरका प्रमुख आकर्षण हुन्।

नेवार, मगर, गुरुङलगायत जातजातिका सांस्कृतिक वेषभूषा र परम्परागत रीतिरिवाज पनि पर्यटकका लागि थप आकर्षण बनेका छन्। हिमालको लहर एकै फ्रेममा देखिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक बन्दीपुरमा रमाउने गरेका छन्।

यहाँका होटल व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ। होटल सङ्घमा आबद्ध ८० भन्दाबढी होटल तथा एक दर्जन घरबास सेवा सञ्चालनमा छन्। साथै अत्याधुनिक सेवा सुविधासहितको पाँचतारे होटल पनि सञ्चालनको अन्तिम चरणमा पुगेको छ।

डुम्रे बजारबाट करिब आठ किलोमिटर यात्रा गरेपछि पुगिने बन्दीपुर बजारमा हाल केबलकारबाट पनि पुग्न सकिने व्यवस्था छ। ठूलढुङ्गाबाट बरालथोकसम्म सञ्चालनमा आएको केबलकार सेवाले सात मिनेटमै पर्यटकलाई बन्दीपुर पुर्‍याउने हुँदा आवागमन थप सहज भएको छ। रासस


प्रकाशित : बुधबार, पुस १६ २०८२१८:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend