काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले सरकारले व्यवसायीहरूलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिएको बताएकी छिन्।
देशको अर्थतन्त्र उकास्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले आज बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्।
उनले जेनजी आन्दोलनपछि सरकारले व्यवसाय संरक्षणका लागि महत्त्वपूर्ण काम गरेको दाबी गर्दै यसबाट सरकार निजी क्षेत्रसँग सहकार्य गर्छ भन्ने स्पष्ट भएको बताइन्।
'यसबीचमा व्यवसाय संरक्षणका लागि केही महत्त्वपूर्ण काम भएका छन्। जसले व्यवसाय सुरक्षामा सरकार दृढ रहेको र निजी क्षेत्रसँग सहकार्य गर्छ भन्ने प्रस्ट हुन्छ,' प्रधानमन्त्री कार्कीले भनिन्।
उनले जेनजी आन्दोलनमा क्षतिग्रस्त व्यवासय पुनरुत्थानका लागि मौद्रिक, वित्तीय तथा विकास योजनामार्फत निजी क्षेत्रका सबै माग सम्बोधन गरिएको बताइन्।
कर भुक्तानीको म्याद थपिएको, बैंकबाट लिएको कर्जाको पुनर्तालिकीकरण, बीमा दाबीको अग्रीम भुक्तानी हुने व्यवस्था गरिएको प्रधानमन्त्री कार्कीले जानकारी दिइन्।
यस्तै भन्सार प्रशासनमा कारोबार मूल्यलाई मान्यता दिने प्रणालीको सुरुआत, आन्तरिक राजस्व प्रशासनमा अनलाइन प्यान र अनलाइन करचुक्ता प्रमाणपत्र लिन पाउने व्यवस्था र सबैलाई फुल अडिट गर्ने प्रणालीको सट्टा जोखिममा आधारित लेखा प्रणाली सुरु गरिएको उनले बताइन्।