सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

अहिले लगानीको निमित्त एकदमै अनुकूल वातावरण हो, तर लगानी वृद्धिको दर कमजोर छ : अर्थमन्त्री

बुधबार, पुस १६ २०८२
अहिले लगानीको निमित्त एकदमै अनुकूल वातावरण हो, तर लगानी वृद्धिको दर कमजोर छ : अर्थमन्त्री

सरकार र निजी क्षेत्रबीचको कम्प्याक्टसँगै निजी क्षेत्र र नागरिकबीच पनि कम्प्याक्ट हुनुपर्ने रहेछ भन्ने देखिएको उनले बताएका छन्।

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले अहिले लगानीको निमित्त एकदमै अनुकूल वातावरण भएको भए पनि लगानी वृद्धिको दर ज्यादै कमजोर रहेको बताएका छन्। 

देशको अर्थतन्त्र उकास्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले आज बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा अर्थमन्त्री खनालले यस्तो बताएका हुन्। 

'पछिल्लो समय अर्थतन्त्रका सूचकहरू सकारात्मक छन्। न्यून मूल्यवृद्धि, न्यून ब्याजदर, तरलता बजारमा पर्याप्त छ, विदेशी मुद्राको सञ्चिति उच्चस्तरमा छ, चालु खाता बचतमा छ, शोधनान्तर स्थिति पनि बचतमा छ। यो लगानीको निमित्त एकदमै अनुकूल वातावरण हो। तर लगानी वृद्धिको दर ज्यादै कमजोर छ' उनले भने। 

निजी क्षेत्र स्वयंले हामी खरानीबाट फेरि उठ्छौँ भन्दै गर्दा सरकारले निजी क्षेत्रसँग पटक पटक संवाद गरेर समाधान निकाल्ने प्रयत्न गरिरहेको बताउँदै उनले अझै पनि किन मनोबल बढ्न सकेन भन्नेमा निजी क्षेत्रको धारणा आइरहेको बताए। 

'निजी क्षेत्रमाथिको आक्रमण दोहोरिन नदिन हामीले पटक-पटक छलफल गरेका छौँ। निजी क्षेत्रले पनि हामी उठ्छौँ भनिरहनु भएको छ। हामीले विभिन्न पहलहरु गरिरहेका छौँ' उनले भने। 

'निजी क्षेत्रको महत्व लगानीलाई गर्नुपर्ने संरक्षण लगानी प्रवर्द्धनात्मक कामहरूका बारेमा धेरै कुरा भए। निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति निजी क्षेत्रको मात्र नभएर त्यो राष्ट्रकै सम्पत्ति हो। त्यसको क्षति हुनु भनेको राज्यको क्षति हुनु हो। निजी क्षेत्रले कमाएको नाफा निजी क्षेत्र आफैले मात्र भोग गर्ने होइन त्यही नाफाबाट सरकारले पनि कर पाउँछ। कर्मचारीले पाउने रकमले उसको आम्दानीको स्तर बढ्छ। त्यही नाफाले समाजका विभिन्न क्षेत्रमा सेवाका कामहरू हुन्छन्। यो नाफा सबैतिर वितरण भएको छ' उनले भने। 

सरकार र निजी क्षेत्रबीचको कम्प्याक्टसँगै निजी क्षेत्र र नागरिकबीच पनि कम्प्याक्ट हुनुपर्ने रहेछ भन्ने देखिएको उनले बताएका छन्। 


प्रकाशित : बुधबार, पुस १६ २०८२१७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend