बाँके- नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा ७ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
चालु आर्थिक वर्षको पाँच महिनामा ७ अर्ब ६५ करोड १९ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए। उनका अनुसार नेपालगञ्ज भन्सारले चालु आर्थिक वर्षको हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन।
चालु आर्थिक वर्षको साउनमा १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँको लक्ष्य रहेकामा ७४.१४ प्रतिशत अर्थात् १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ, भदौमा १ अर्ब ९३ लाख ६४ हजार ५४ रुपैयाँको लक्ष्य रहेकामा ६९.७७ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड १० लाख ९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसैगरी असोजमा १ अर्ब ९८ करोड ३१ लाख ३० हजार रुपैयाँको लक्ष्य रहेकामा ८७.८३ प्रतिशत अर्थात् १ अर्ब ७४ करोड १६ लाख ५ हजार रुपैयाँ, कात्तिकमा २ अर्ब १२ करोड ६१ लाख ३० हजार रुपैयाँको लक्ष्य रहेकामा ७२.३० प्रतिशत अर्थात् १ अर्ब ५३ करोड ७० लाख ८२ हजार र मंसिरमा १ अर्ब ९६ करोड ३६ लाख १४ हजार रुपैयाँको लक्ष्य रहेकामा ८३.४५ प्रतिशत १ अर्ब ६३ करोड ८५ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत र मंसिरमा ७६.२७ प्रतिशत राजस्व संकलन भएको थियो।
नेपालगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३० अर्ब रुपैयाँभन्दा बढीको मालसामान आयात भएको छ चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्म ३० अर्ब ६६ करोड ८९ लाख ९० हजार रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको हो।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा २९ अर्ब ८ करोड ४५ लाख ४४ हजार रुपैयाँबराबरको मालसामान आयात भएको थियो। नेपालगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा १ अर्ब १ करोड ६३ लाख ८९ हजार रुपैयाँबराबरको मालसामान निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८८ करोड ६८ लाख ८२ हजार रुपैयाँबराबरको मालसामान निर्यात भएको थियो।
चालु आर्थिक वर्षको पाँच महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट कुल ३१ अर्ब ६८ करोड ५३ लाख ७९ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २९ अर्ब ९७ करोड १४ लाख २६ हजार रुपैयाँबराबरको कारोबार भएको थियो।
कार्यालयबाट हुने व्यापार घाटा अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको पाँच महिनामा उस्तै छ। अघिल्लो आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा ९७ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा व्यापार घाटा ९६.६८ रहेको सूचना अधिकारी खड्काले बताए। रासस