मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

निर्धारित समयभित्रै काम सम्पन्न गर्ने निर्माण व्यवसायी सम्मानित

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १५ २०८२
निर्धारित समयभित्रै काम सम्पन्न गर्ने निर्माण व्यवसायी सम्मानित

नगरसभामा उत्कृष्ट कर्मचारी, उपभोक्ता समिति, टोल विकास संस्था, उपभोक्ता समिति र निर्माण व्यवसायीलाई सम्मान गरिएको छ।

म्याग्दी- बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ थप ५० योजनाका लागि १ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

बेनीमा सोमबार भएको १८औँ नगरसभाले गत आर्थिक वर्षमा खर्च नभएको बजेटलाई ४३ वटा योजनाका लागि १ करोड २८ लाख ८५ हजार रुपैयाँ र ७ वटा आन्तरिक रोजगारी प्रवर्द्धन कार्यक्रम (प्रधानमन्त्री रोजगार) का लागि १० लाख ५४ हजार रुपैयाँ विनियोजन गरेको हो। 

१ करोड ६३ लाख रुपैयाँ बजेटका ५० वटा योजना संशोधन भएको नगर उपप्रमुख ज्योति लामिछानेले बताइन्। उनले प्रस्तुत गरेको चालु आर्थिक वर्षको कुल बजेट ७१ करोड ८० लाख २७ हजार रुपैयाँबाट बढाएर ७३ करोड ९ लाख ६२ हजार रुपैयाँ कायम गर्ने प्रस्ताव सभाले पारित गरेको हो।

गत असारको नगरसभाबाट वडास्तरीय ३ सय १० र नगरस्तरीय पाँचवटा योजना छनोट भएकामा हालसम्म वडास्तरीय ९० वटा योजनाको सम्झौता भएकामा ६ वटा सम्पन्न भइसकेका र २ सय २० वटा सम्झौताको चरणमा रहेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए। 

उनका अनुसार नगरस्तरीय पाँचवटा योजनामध्ये तीनवटाको ठेक्का सम्झौता भएको र दुईवटा ठेक्का प्रक्रियामा छन्। सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान, पदमार्ग निर्माणसम्बन्धी योजना छनोट भएका छन्। 

५ लाख रुपैयाँसम्म बजेटका योजना वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको नगरप्रमुख सुरत केसीले बताए। आर्थिक वर्षको पाँच महिनामा कुल २९.९९ प्रतिशत अथवा चालुतर्फ २१ करोड ८७ हजार ५५० रुपैयाँ र पुँजीगततर्फ ५३ लाख ३ सय १ रुपैयाँ खर्च भएको सभामा जानकारी गराइएको थियो।

कुल ४ करोड ३३ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकामा १ करोड ८७ लाख ५९ हजार ३०३ रुपैयाँ राजस्व संकलन भई ४३.२७ प्रतिशत लक्ष्य हासिल भएको छ। नगरसभाले बेनी नगरपालिकाको शिक्षा ऐन, २०७४ लाई संसोधन गरेर नगर शिक्षा समितिको सदस्यमा स्रोत व्यक्ति रहने व्यवस्था हटाएर शिक्षा क्षेत्रमा क्रियाशील शिक्षाप्रेमी, विज्ञ, समाजसेवी, वुद्धिजिवीमध्येबाट एक जना महिला पर्ने गरी समितिले मनोनित गरेको तीन जना सदस्य रहने व्यवस्था गरेको छ। 

लेखा समितिका संयोजक यामबहादुर बानियाँले प्रस्तुत गरेको २ करोड ४ लाख १५ हजार २ सय १ रुपैयाँ ३० पैसा बेरुजु नियमित गर्ने प्रस्ताव सभाले पारित गरेको छ। नगरसभामा उत्कृष्ट कर्मचारी, उपभोक्ता समिति, टोल विकास संस्था, उपभोक्ता समिति र निर्माण व्यवसायीलाई सम्मान गरिएको छ।  

गत आर्थिक वर्षमा तीनवटा योजनाको ठेक्का लिएर निर्धारित समयमै काम सम्पन्न गरेको एसएस बिल्डर्सका सञ्चालक नवराज बरुवाल, पात्लेखेतको छरटोलदेखि साविले गोरेटो बाटो उपभोक्ता समितिका अध्यक्ष जीवन राम्जाली र सिंगा तल्लो तातोपानी टोल विकास संस्थाकी उपाध्यक्ष सीता घले बुढा र सबैभन्दा बढी कर तिर्ने वडा नं ८ की मीठुकुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो। 

त्यसैगरी अधिकृतस्तरको कर्मचारीतर्फ जनस्वास्थ्य अधिकृत चन्दन सुवेदी, स्वास्थ्यकर्मीतर्फ रत्नेचौर स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक होमनाथ गौतम, वडा कार्यालयमा कार्यरत कर्मचारीतर्फ वडा नं ८ का सचिव रमेश पौडेल, सहायकस्तरको कर्मचारीमा अल्पकालीन सेवा केन्द्रका प्रमुख साधना केसी र कार्यालय सहयोगीमध्येबाट लक्ष्मण क्षेत्रीलाई सम्मान गरिएको हो। रासस


प्रकाशित : मंगलबार, पुस १५ २०८२१०:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend