काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ। निरीक्षणका क्रममा कैफियत देखिएका दुईवटा फर्मलाई नगद जरिवाना गरिएको छ।
विभागका अनुसार एकान्तकुनास्थित शक्ति मार्बल्सलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै हात्तीवनस्थित आरके ब्रदर्शलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ 'घ' बमोजिमको कसुरमा सोही ऐको दफा ३९ १ 'क' अनुसार ती फर्मलाई कारबाही गरिएको हो।
अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। विभागले नियमितजसो बजार अनुगमन गर्दै कालोबजारी नियन्त्रण र स्वच्छता कायम राख्दै आएको छ। स्थानीय प्रशासन, जनप्रतिनिधि समेतको सहकार्यमा बजार अनुगमन तथा निरीक्षण जारी रहने विभागको दाबी छ। रासस
