काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने अधिकतम खर्च सीमा तोकेको छ। आयोगले भौगोलिक अवस्था र निर्वाचन क्षेत्रको प्रकृतिअनुसार प्रत्यक्षतर्फका उम्मेदवारको खर्च सीमा निर्धारण गरेको हो।
आयोगका अनुसार काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १, ३, ६, ७ र ८ मा प्रत्यक्ष उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। त्यस्तै काठमाडौं–२, ४, ५, ९ र १० का उम्मेदवारले भने अधिकतम २७ लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था गरिएको छ। भक्तपुर र ललितपुर जिल्लाका सबै निर्वाचन क्षेत्रमा पनि खर्च सीमा २७ लाख रुपैयाँ तोकिएको छ।
झापा–१ र ४, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट लगायतका जिल्लामा प्रत्यक्ष उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न सक्नेछन्। झापा–२, ३ र ५ का उम्मेदवारका लागि भने खर्च सीमा ३१ लाख रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी इलाम, धनकुटा, मोरङ, सुनसरी, ओखलढुंगा, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, कास्की लगायतका विभिन्न जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम ४१ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।
पहाडी तथा दुर्गम क्षेत्रका ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङ, बर्दिया, सल्यान, डोल्पा, जाजरकोट, बझाङ, डोटी र बैतडीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारका लागि खर्च सीमा ३३ लाख रुपैयाँ तोकिएको छ।
आयोगले निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारले बैंक वा वित्तीय संस्थामा छुट्टै खाता सञ्चालन गरी सोही खाताबाट मात्र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ। साथै उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी सम्बन्धित व्यक्तिको नाम, थर र विवरण निर्वाचन अधिकृतको कार्यालय तथा प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।
निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र उम्मेदवारले आफ्नो सम्पूर्ण खर्च विवरण आयोगमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।