मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

वैदेशिक रोजगारीमा जान चाहनेलाई सरल र सहज रूपमा ऋण दिनुपर्छ : चन्द्र ढकाल

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १४ २०८२
वैदेशिक रोजगारीमा जान चाहनेलाई सरल र सहज रूपमा ऋण दिनुपर्छ : चन्द्र ढकाल

वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई ३६ प्रतिशतसम्म महँगो ब्याज तिर्नुपर्ने बाध्यता रहेको औल्याउँदै अध्यक्ष ढकालले बैंक, वित्तीय संस्था, मनी ट्रान्सफर, सामाजिक सुरक्षा कोष जस्ता वित्तीय संस्थाहरूबाट समन्वय गरी स्थानीयस्तरमा नै ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन्।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई स्थानीयस्तरमा नै सरल र सहज रुपमा ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग सोमबार श्रम मन्त्रालयमा भेटवार्ता गर्दै अध्यक्ष ढकालले नेपालको श्रम बजारको वर्तमान अवस्था, निजी क्षेत्रका चुनौती र श्रमिक हितसँग सम्बन्धित विभिन्न विषयमा महासंघको तर्फबाट ध्यानाकर्षण गराएका थिए।

वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई ३६ प्रतिशतसम्म महँगो ब्याज तिर्नुपर्ने बाध्यता रहेको औल्याउँदै अध्यक्ष ढकालले बैंक, वित्तीय संस्था, मनी ट्रान्सफर, सामाजिक सुरक्षा कोष जस्ता वित्तीय संस्थाहरूबाट समन्वय गरी स्थानीयस्तरमा नै ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन्।

उनले सामाजिक सुरक्षा कोषमा योगदानको ठूलो रकम संकलन भए पनि त्यो रकम उत्पादनमूलक क्षेत्रमा परिचालन हुन नसकेको भन्दै उक्त कोषलाई उद्योग, कृषि, पर्यटनलगायत क्षेत्रसँग जोडेर लगानी गर्नुपर्ने बताए। 

'सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको योगदानको ठूलो रकम जम्मा भएको छ। यो रकम उद्योग, कृषि, ऊर्जा र पर्यटन जस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्न सके देशमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण योगदान पुग्नेछ,' अध्यक्ष ढकालले भने। 

महासंघले आन्तरिक तथा वैदेशिक दुवै बजारका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिएको उल्लेख गर्दै अध्यक्ष ढकालले उद्योगको आवश्यकताअनुसार सीपयुक्त जनशक्ति तयार गर्न सके श्रमिकको सुरक्षा, राम्रो आम्दानी र देशको आर्थिक उन्नति एकैसाथ सम्भव हुने धारणा राखे। 

यस्तै उनले औद्योगिक करिडोरहरूमा बन्द र हडतालका कारण उद्योगमा जोखिम बढेको भन्दै उद्योगको सुरक्षाका लागि विशेष औद्योगिक सुरक्षा बल आवश्यक रहेको बताए। 

सो अवसरमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले सबैभन्दा बढी नेपाली श्रमिकहरू जाने विभिन्न देशमा कामदार पठाएबपात वैदेशिक रोजगार व्यवसायीले लिन पाउने रकम अन्य देशका व्यवसायीले पाउनेभन्दा अत्यन्त न्यून रहेको बताए। 

सरकारले तोकेको सेवा शुल्कमा कामदार पठाउन नसकिरहको उल्लेख गर्दै उनले श्रमिकहरू अन्यत्रबाट झन ठगिने भएकाले श्रमिकहरू नठगिने गरी त्यसको उचित समाधानमा ध्यान दिनुपर्नेमा जोड दिए। 

भेटवार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले महासंघ तथा वैदेशिक रोजगार व्यवसायी संघले  उठाएका विषयहरूलाई सकारात्मक रहेको उल्लेख गर्दै श्रम मन्त्रालयले नीति सुधार, सहजीकरण तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले निजी क्षेत्रसँग सहकार्य गर्दै श्रमिक हित, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर सरकारले उचित निर्णय गर्ने समेत बताए। 

भेटमा महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ तथा वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरूको पनि सहभागिता थियो।


प्रकाशित : सोमबार, पुस १४ २०८२१७:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend