काठमाडौं- नेपाली सेयर बजारमा सूचीकृत कम्पनीहरूका लागि पछिल्लो समय निकै उत्साहजनक सावित भएको छ।
आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई प्रतिफल वितरण गर्ने होडबाजीसँगै नेप्सेमा सूचीकृत विभिन्न क्षेत्रका एक सय वटा कम्पनीहरूले लाभांश घोषणा गर्ने प्रक्रियालाई करिब अन्तिम चरणमा पुर्याएका छन्।
पुँजी बजारका लगानीकर्ताहरूका लागि यो समय विशेष मानिन्छ किनकि यसै समयमा कम्पनीहरूको वर्षभरिको प्रदर्शनको वास्तविक प्रतिफल उनीहरूको हातमा पर्छ।
यस वर्ष वाणिज्य बैंक, विकास बैंक, वित्त, लघुवित्त, होटल तथा पर्यटन, बीमा, जलविद्युत्, लगानी र उत्पादनमूलक क्षेत्रका कम्पनीहरूले आ-आफ्नो वित्तीय क्षमताअनुसारको बोनस सेयर र नगद लाभांश सार्वजनिक गरेका छन्।
वाणिज्य बैंक
दोस्रो बजारमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये १३ वटाले मात्र यस वर्ष लाभांश वितरण गरेका छन्। बाँकी ६ बैंकका सेयरधनीको हात रित्तो भएको छ। लाभांश वितरण नगर्ने बैंकहरुमा नेपाल बैंक लिमिटेड, कुमारी बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन्।
यसपटक एभरेष्ट बैंकले सबैभन्दा धेरै २० प्रतिशत लाभांश घोषणा गरेको छ। त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश घोषणा गरेको छ।
यस्तै कृषि विकास बैंकले १३ प्रतिशत, नबिल बैंकले १२.५० प्रतिशत तथा सिद्धार्थ, लक्ष्मी सनराइज र एनएमबि बैंकले १० प्रतिशतभन्दा माथि लाभांश दिएका छन्।
१३ वटा वाणिज्य बैंकले ३३ अर्ब ६४ करोड रुपैयाँ लाभांश घोषणा गरेका थिए। जसमध्ये करिब ७४ प्रतिशत अर्थात् २४ अर्ब ९९ करोड रुपैयाँ नगदमा रहेको छ भने बाँकी ८ अर्ब ६५ करोड रुपैयाँमात्र बोनस सेयरका रूपमा वितरण भएको छ।
स्ट्यान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई र सानिमा बैंकले आफ्नो सम्पूर्ण लाभांश नगदमा मात्र दिएका छन् भने प्राइम कमर्सियल, लक्ष्मी सनराइज र सिटिजन्स बैंकले भने कर प्रयोजनका लागिबाहेक सबै बोनस सेयर वितरण गरेका छन्।
अन्य बैंकहरू नेपाल एसबीआई, एनएमबि, कृषि विकास, सिद्धार्थ, एभरेष्ट र माछापुच्छ्रेले नगद र बोनस दुवै गरेर लाभांश घोषणा गरेका छन्।
विगतमा राष्ट्र बैंकको पुँजी वृद्धि नीतिका कारण बोनस सेयर बाँड्ने होड चले पनि अहिले बैंकहरूको पुँजीकोष अनुपात सहज अवस्थामा रहेकाले नगद लाभांशतर्फ आकर्षण बढेको हो।
बजारमा कर्जाको माग न्यून हुँदा पुँजीकोषमा दबाब नपरेकाले बैंकहरूले थप पुँजी वृद्धि गर्नुको साटो नगद वितरणलाई महत्त्व दिएका हुन्।यो वर्ष वितरण भएको बोनस सेयरपछि वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी ५ खर्ब ८ अर्ब ४८ करोडबाट वृद्धि भइ ५ खर्ब १७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
विकाश बैंक
विकास बैंक र वित्त क्षेत्रमा पनि लाभांशको उत्साहजनक प्रभाव देखिएको छ। हालसम्म ८ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन्, जसमा मुक्तिनाथ विकास बैंक १८.२ प्रतिशतका साथ सबैभन्दा अगाडि छ। कामना सेवाले १५.८ प्रतिशत र साइन रेसुङ्गाले १३ प्रतिशत लाभांश वितरण गरेका छन्।

वित्त
नेप्सेमा सूचीकृत वित्त क्षेत्रका ३ कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमध्ये श्री इन्भेष्टमेन्ट वित्तले ६.४ प्रतिशत,मन्जुश्री फाइनान्सले १७ प्रतिशत,आईसीएफसी फाइनान्सले १५.८ प्रतिशत लाभांश घोषणा गरेका छन्।
जीवन बीमा
बीमा क्षेत्रतर्फ जीवन बीमाका १० कम्पनीले लाभांश सार्वजनिक गरेका छन्। नेपाल लाइफ र एलआईसी नेपालले २१.१ प्रतिशतको समान लाभांश दिएका छन्।

निर्जीवन बीमा
निर्जीवन बिमकका ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत तथा शिखर इन्स्योरेन्सले ६.३२ प्रतिशत लाभांश घोषणा गरेका छन्।
जलविद्युत
पुँजी बजारमा ठूलो हिस्सा ओगटेको अर्को क्षेत्र रहेको छ जलविद्युत। यो क्षेत्रका २१ कम्पनीले लाभांश घोषणा गरेका छन्। यसमा सबैभन्दा धेरै साहस ऊर्जा लिमिटेडले २२.१ प्रतिशत, माउन्टेन इनर्जीले २१.१ प्रतिशत लाभांश घोषणा गरेका छन्।


लघुवित्त
२१ वटा लघुवित्त कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमा सबैभन्दा धेरै छिमेकि लघुवित्तले २५ प्रतिशत र गुराँस लघुवित्तले १५ प्रतिशतका साथ उत्कृष्ट ठहरिएका छन्।


होटल तथा पर्यटन
यो क्षेत्रका ४ कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमध्ये सबैभन्दा धेरै सोल्टि होटलले ३१.६ प्रतिशत लाभांश घोषणा गरेको छ।
लगानी क्षेत्र
लगानी क्षेत्रअन्तर्गत ६ वटा कम्पनीको लाभांश घोषणा भएको छ। जसमध्ये एनआरएन् इन्फ्रास्ट्रक्चरएण्ड डेभलपमेन्टले सबैभन्दा धेरै ४२.१ प्रतिशत लाभांश घोषणा गरेको छ।
उत्पादन तथा प्रशोधन
उत्पादन तथा प्रशोधन क्षेत्रको ६ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् भने सबैभन्दा धेरै युनिलिभरले १८४२ लाभांश वितरण गर्ने घोषणा गरेको छ।
त्यसैगरी अन्य क्षेत्रका दुई वटा कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमा नेपाल टेलिकमले ३० प्रतिशत र मुक्तिनाथ कृषिले ८.४२ प्रतिशत लाभांश घोषणा गरेका छ।
