मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

विपद्बाट क्षति पुगेका इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १४ २०८२
विपद्बाट क्षति पुगेका इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति

क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको हो।

काठमाडौं- गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ। क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको हो।  

क्षति भएका मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिनेछ। 

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा दिएको छ। स्रोत सहमति प्राप्त भएकाले अब सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेण्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विपद्बाट क्षतिग्रस्त सडकका संरचना मर्मत तथा पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएकाले टेण्डरको प्रक्रिया तत्काल अगाडि बढाउन सडक विभागलाई निर्देशन दिएका छन्। उक्त कार्य विभाग मातहतको सडक डिभिजन इलामले कार्यान्वयन गरिनेछ। ३९ जनाको मृत्यु र ठूलो भौतिक संरचनामा क्षति पुग्नेगरी  मनसुनजन्य विपद् घटना भएपछि सरकारले २३ असोजमा इलामलाई ३ महिनाका लागि 'विपद् संकटग्रस्त' घोषणा गरेको थियो।  

२५ असोजमा मन्त्री घिसिङ, सचिव केशवकुमार शर्मा, गृहसचिव रामेश्वर दंगाल, सडक विभागका महानिर्देशक विजय जैसी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशराज भट्टको टोलीले इलाम पुगेर विपद्को क्षति निरीक्षण गरेको थियो। टोलीले विपद्बाट प्रभावितका भएका घरपरिवारका लागि तत्काल राहत उपलब्ध गराउने, क्षति पुगेका संरचनाको तत्काल मर्मत सम्भार गरी जनजीवन सामान्य बनाउने र आवश्यक तत्कालीन  तथा दीर्घकालीन योजना ल्याउने  प्रतिबद्धता जनाएको थियो। 

सबैभन्दा बढी रकम मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ। मेची राजमार्गअन्तर्गतकै माइखोला मोटरेबल स्थायी पुल राजदुवालीका लागि २० करोड रुपैयाँ, मेची करिडोरको माइखोलामा मोटरेबल स्थायी पुल वेलासेका लागि २५ करोड रुपैयाँ, पुवाखोला र जोगमाईखोला पुलमा बेलीब्रिज निर्माण गर्न ५-५ करोड रुपैयाँ र मेची राजमार्गको वैकल्पिक सडकको रूपमा रहेको मेची करिडोरका लागि १४ करोड रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ। 

यसमध्ये मेची राजमार्गका लागि २५ करोड रुपैयाँ, माइखोला राजदुवाली तथा माइखोला पुल वेलासेका लागि क्रमश ५ करोड रुपैयाँ तथा १० करोड रुपैयाँ र मेची करिडोरका लागि ४ करोड रुपैयाँ चालु आर्थिक वर्षमा तत्काल आवश्यक रकम निकासा दिइएको छ। दुईवटा बेलीब्रिजका लागि आवश्यक सम्पूर्ण रकम निकासा दिइएको छ।


प्रकाशित : सोमबार, पुस १४ २०८२१३:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend