मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

भोजपुर बजारमा पानीको संकट अन्त्य

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १४ २०८२
भोजपुर बजारमा पानीको संकट अन्त्य

भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रूपमा रहेको पानीको समस्या समाधान भएको छ।

भोजपुर- भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रूपमा रहेको पानीको समस्या समाधान भएको छ। आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित ६ वटा वडाका २ हजार ६ सय ५० घरधुरीमा 'एक घर एक धारा' जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको छ।

समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना सञ्चालनपछि बजार तथा आसपासका वडामा देखिँदै आएको चरम खानेपानी समस्या हटेको छ। 

भुल्के मुहान, डढुवा मुहान, जोरसाघु मुहान, तीनधारे मुहान र तीन भङगाले  गरी पाँच वटा मुहानबाट पानी संकलन गरी स्थानीय नागरिकको घरघरमा वितरण गरिएको समितिका अध्यक्ष तुफान किरातले जानकारी दिए। स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजनाअन्तर्गत दुई वटा पानी प्रशोधन केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ।

'स्थानीय नागरिकलाई सहजरूपमा खानेपानीको व्यवस्था गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ,' अध्यक्ष किरातले भने, 'आयोजना सञ्चालनमा आएपछि बजार क्षेत्रसँगै आसपासका वडाका नागरिकको पानीको समस्या हटेको छ।'

आयोजनामार्फत पानी वितरणका लागि १० हजार ९५ लिटर क्षमताका ११ वटा ट्यांकी निर्माण गरी पानी वितरण भइरहेको छ। यस आयोजनाबाट भोजपुर नगरपालिका-५, ६, ७, ८, ९ र १२ का नागरिकले खानेपानी उपभोग गर्दै आएका छन्।

विगतमा गम्भीर पानी अभाव झेल्दै आएका स्थानीयले नागरिक सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत करिब ५० करोड रुपैयाँको लागतमा विसं २०७८ चैतमा योजना सम्पन्न भएपछि सहजता पाएका हुन्। स्थानीय नागरिकले आयोजना सञ्चालनसँगै दैनिक जीवन सहज बनेको प्रतिक्रिया दिएका छन्। रासस


प्रकाशित : सोमबार, पुस १४ २०८२११:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend