काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
आइतबार अहिसम्मकै उच्च मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार चाँदी ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। आइतबार चाँदी ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
बढ्दै गएको भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षा र वित्तीय बजारमा छिटोछिटो भइरहेको परिवर्तनका कारण मूल्य निरन्तर बढिरहेको छ।
पछिल्लो समय संसारका धेरै मुलुककले अमेरिकी डलरप्रतिको विश्वसनीयतामा पनि प्रश्न उठाउन थालेका छन्। डलरप्रतिको अविश्वासले गर्दा धेरै केन्द्रीय बैंकले सुनको खरिद बढाउन थालेका छन्।
नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनचाँदीको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।


