बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दलहरूले बुझाउन थाले समानुपातिक उम्मेदवारको बन्दसूची

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १३ २०८२
दलहरूले बुझाउन थाले समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं- प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न सुरु भएको छ।

निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आज र सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने कार्यक्रम तोकिएकामा केही राजनीतिक दलले आजै सूची पेस गरेका छन्। 

आयोगका  प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसोसम्म तीन दलका १३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्दसूची पेस गरिसकेका छन्। ती दलले निस्सा लिएर दर्ताको प्रक्रिया पूरा गरेका हुन्। 

उम्मेदवारको नाम मतदाता सूचीमा छ, छैन हेरेर आयोगले निस्सा दिएपछि बन्दसूची पेस गरिएको हो। यस आधारमा नेपाल मजदुर किसान पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टीलगायतले आज दिउँसोसम्म बन्दसूची पेस गरेका प्रवक्ता भट्टराईले जानकारी दिए।

उनले राजनीतिक दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीबारे पुस १५ देखि २० गतेसम्म छानबिन गरिने कार्यक्रम रहेको बताए। त्यसपछि पुस २१ देखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ।

पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ। माघ ४ गते बन्दसूची र माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रवक्ता भट्टराईले जानकारी दिए।

यसअघि एक सयवटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन्। यसरी दर्ता भएका राजनीतिक दलले मात्र सोमबारसम्म बन्दसूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन्।

साना दलले आज समानुपातिकतर्फको बन्दसूची दर्ता गराए पनि ठूला दल भने अझै बैठकमै व्यस्त छन्। 

सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तोकेको छ। यसपटक  एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। ती मतदाताले समानुपातिक र प्रत्यक्षको दुईवटा मतपत्रमा मतदान गर्न पाउँछन्। रासस


प्रकाशित : आइतबार, पुस १३ २०८२१८:०१
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • # प्रतिनिधिसभा निर्वाचन २०८२
  • # प्रतिनिधिसभा निर्वाचन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend