मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १३ २०८२
बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

महोत्सवमा दुई सय बढी व्यापारिक कक्ष छन्। जसमध्ये केही कक्षमा बागलुङमा उत्पादित सामग्रीले 'मेड इन बागलुङ' को नामबाट छुट्टै प्राथमिकताका साथ स्टलहरू पाएको छ।

बागलुङ- पछिल्ला मेला तथा महोत्सव आधुनिक मात्रै भए भन्ने गुनासोका बीच बागलुङमा जारी आठौँ बागलुङ महोत्सवमा भने स्टलहरूका केही दृश्य अलि फरक देख्न पाइन्छ। बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा यही पुस ११ गतेदेखि बागलुङ नगरपालिका-१ रामरेखामास्थित बांगेचौर खेलमैदानमा बागलुङ महोत्सव चलिरहेको छ।

महोत्सवमा दुई सय बढी व्यापारिक कक्ष छन्। जसमध्ये केही कक्षमा बागलुङमा उत्पादित सामग्रीले 'मेड इन बागलुङ' को नामबाट छुट्टै प्राथमिकताका साथ स्टलहरू पाएको छ। जुन स्टललाई आयोजले निःशुल्क प्रदान गरेको छ। बागलुङमा उत्पादन भएको डाला, नाङ्ला, ठेकादेखि अल्लोका कपडासम्म महोत्सवस्थलमा देख्न सकिन्छ। 

घरेलु उत्पादनको बजारीकरणसँगै प्रचारप्रसारका लागि आयोजकले निःशुल्क कक्षको व्यवस्था मिलाएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए। उनले बिहुँ र सिगानाका सुन्तलादेखि बागलुङमा प्याकेजिङ गरिएका मकैदेखि हस्तकलाका विभिन्न सामग्री बिक्रीका लागि कक्षलाई मेड इन बागलुङका नाममा छुट्याइएको जानकारी दिए। 
 
महोत्सवमा बिहुँको बिहुँकोट साना किसान कृषि सहकारीमार्फत प्याकेजिङ गरिएका सुन्तला, तमानखोलाको स्थानीय हस्तकलाका सामग्री र ताराखोलाको भाँगोदेखि डोका, नाम्लासम्म महोत्सवका कक्षमा देख्न पाइन्छ। बिहुँको सुन्तलालाई 'केस्रा ब्रान्ड' मा बजारमा ल्याइएको छ । विगतका महोत्सवमै प्रचारप्रसार भएका कारण जैमिनी नगरपालिका-३ मा उत्पादन भएको बाकोको गुन्द्रुक र सिस्नोको पाउडरले राम्रो बजार पाउन थालेको थियो। 

महोत्सवमा बिक्रीसँगै दर्शकको नजरमा स्थानीय उत्पादन पर्न गएमा बजारीकरणमा सघाउने भएकाले ताराखोलाका स्थानीय उत्पादन डाला, नाङ्ला, भागो, रातो च्याउ बिक्रीका लागि ल्याएको महिला उद्यमी गौमती घर्तीले जानकारी दिए। उनले ताराखोलामा ढाकाको कपडाबाट तयार गरिएको हस्तकलाका सामग्री पनि बिक्रीका लागि ल्याइएको बताए। 

महोत्सवस्थलमा तमानखोलाको स्थानीय उत्पादनमा सबैको आँखा पुग्न थालेको छ। महोत्सवमा उनीहरूले अल्लोका कपडा, तामाका भाँडाका सामग्री, फापर र जौँको पीठो, आलु, सिमी, टिमुर, कोदोको पीठो, मकैको आटा, निगालोबाट बनेका सामग्री तथा भेडाको ऊनलगायत थुप्रै घरेलु सामग्री बिक्रीका लागि ल्याएको महिला उद्यमी जुनमाया घर्तीले बताए। उनले व्यापार मात्रै नभएर स्थानीय उत्पादनको जानकारी दिनका लागि तमानखोला गाउँपालिकाको संयोजनमा महोत्सवमा आएर स्थानीय उत्पादनको स्टल राखिएको बताए। 

स्टलमा हस्तकलाका सामग्री, कृषिका आधुनिकदेखि परम्परागत औजार, कृषि प्रदर्शनी, सुन्तला प्रदर्शनी तथा बिक्रीलगायतका स्टलसमेत देख्न सकिन्छ। बागलुङका १० वटै स्थानीय तहका उत्पादन, कृषि उपज तथा हस्तकलाका घरेलु सामग्री बिक्री तथा प्रदर्शनीका लागि एक-एकवटा स्टल उपलब्ध गराइएको मेलाका आयोजक तथा मेड इन बागलुङ कार्यक्रमका संयोजक सुदीपसागर कँडेलले जानकारी दिए। उनले अहिलेसम्म तमानखोला, ताराखोला, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका स्थानीय उत्पादनको स्टल तयार भएर बिक्री-वितरणका काम थालिएको जानकारी दिए। 

'पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार' नारासहित गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको बताउँदै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले यसपटकको महोत्सवमा आधुनिकतासँगै स्थानीयपन झल्कने प्रयास गरेको बताए। पुस २१ गतेसम्म चल्ने महोत्सवमा १० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य लिइएको छ। रासस


प्रकाशित : आइतबार, पुस १३ २०८२१४:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend