मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

नेपालगञ्ज नाकाबाट पाँच महिनामा २५ करोड रुपैयाँको जडीबुटी निर्यात

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १३ २०८२
नेपालगञ्ज नाकाबाट पाँच महिनामा २५ करोड रुपैयाँको जडीबुटी निर्यात

सूचना अधिकारी खड्काका अनुसार उक्त अवधिमा २५ करोड २६ हजार रुपैयाँबराबरको विभिन्न प्रकारका आठ लाख ४१ हजार ३३८ केजी जडीबुटी निर्यात भएका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँभन्दा बढी हो।

बाँके- चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालगञ्ज नाकाबाट  जडीबुटी निर्यात बढेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मंसिर मसान्तसम्म नेपालगञ्जबाट २५ करोड रुपैयाँभन्दा बढीको जडीबुटी निर्यात भएको छ।

सूचना अधिकारी खड्काका अनुसार उक्त अवधिमा २५ करोड २६ हजार रुपैयाँबराबरको विभिन्न प्रकारका आठ लाख ४१ हजार ३३८ केजी जडीबुटी निर्यात भएका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँभन्दा बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ६२ लाख ७९ हजार रुपैयाँको जडीबुटी निर्यात भएको थियो।   

नेपालगञ्ज नाकाबाट विशेषगरी टिमुर, काउलो, सतुवा, बोझो, दालचिनी, अमलालगायत जडीबुटी निर्यात हुने गरेको छ। नेपालगञ्जबाट ८५ प्रतिशत जडीबुटी भारत निकासी हुने गरेको नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघका अध्यक्ष टंक शर्माले बताए। पछिल्लो केही वर्षमा जडीबुटी निर्यात पुनः बढेको उनको भनाइ छ।  

उनका अनुसार हिमाली जिल्लामा जडीबुटी संकलन इजाजत र छुट पुर्जी लिन सदरमुकाम जानुपर्ने झन्झट छ। साना व्यवसायीले जडीबुटी ओसारपसार गर्न नसक्ने अवस्था छ। पहिचान भइसकेका जडीबुटी प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नहुँदा विदेश निर्यातमा समस्या हुने गरेको उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, पुस १३ २०८२१३:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend