मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

मेची भन्सारमा 'अनलाइन भ्यालुएसन सफ्टवेयर' लागू

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १३ २०८२
मेची भन्सारमा 'अनलाइन भ्यालुएसन सफ्टवेयर' लागू

वैध व्यापारलाई प्रोत्साहन गरिने भएकाले प्रणालीबाट राजस्व चुहावटमा कमी आउने प्रमुख कर अधिकृत न्यौपानेले बताए। विश्व व्यापार संगठनले अनलाइन भ्यालुएसन प्रणाली लागू गर्न आफ्ना सदस्य मुलुकलाई आग्रह गर्दै आएको थियो।

झापा- पूर्वी नाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा 'अनलाइन भ्यालुएसन सफ्टवेयर' प्रणाली लागू भएको छ। 

सन्दर्भ मूल्यसूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्यांकन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिए। 

मेची भन्सारसहित मुलुकका आठवटा भन्सारमा परीक्षणका रूपमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली लागू गरिएको जनाइएको छ। झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागू गरिएको हो।

वैध व्यापारलाई प्रोत्साहन गरिने भएकाले प्रणालीबाट राजस्व चुहावटमा कमी आउने प्रमुख कर अधिकृत न्यौपानेले बताए। विश्व व्यापार संगठनले अनलाइन भ्यालुएसन प्रणाली लागू गर्न आफ्ना सदस्य मुलुकलाई आग्रह गर्दै आएको थियो।

प्रणाली उद्घाटन गर्न आएका अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले यस प्रणालीबाट भन्सारमा हुने विभिन्न किसिमका अनियमिता र अनौपचारिक कारोबारमा कमी आउने बताए। उनले सरकारले भन्सारमा सुशासन र करदातामैत्री व्यवस्थालाई प्रोत्साहन गरिरहेको जनाउँदै प्रणाली कार्यान्वयनमा निजी क्षेत्रले सहजीकरण गर्नुपर्ने बताए। 

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य लिएको छ। जसमध्ये चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको पाँच महिनामा ६ अर्ब ८२ करोड २ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भइसकेको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, पुस १३ २०८२१०:३२
  • सम्बन्धित विषय:

  • # मेची भन्सार कार्यालय
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend