बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

म्याग्दीको मच्छिममा तामाखानी उत्खननका लागि पुनः अध्ययन थालियो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १३ २०८२
म्याग्दीको मच्छिममा तामाखानी उत्खननका लागि पुनः अध्ययन थालियो

खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुनः अध्ययन थालेको हो। मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा ६ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन्।

म्याग्दी- पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका-७ मच्छिमका बासिन्दा उत्साहित भएका छन्। खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुनः अध्ययन थालेको हो। मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा ६ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन्। 

धवलागिरि गाउँपालिका-७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरूको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएको बताए। तामाखानी अध्ययनका लागि मच्छिम हुँदै गाउँपालिकाको केन्द्र मुना जोड्ने मुख्य सडकदेखि तामाखानी जोड्ने पहुँचमार्ग निर्माण गरिसकेका छन्।  

खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताए। खानी उत्खननका लागि अध्ययन थालिएकामा मच्छिमबासीमा खुसीयाली छाएको स्थानीय अगुवा चन्द्रबहादुर छन्त्यालले बताए। 

उनका अनुसार मच्छिमको खानीबाट २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो। प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको छन्त्यालले बताए। 

तामाखानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ। छन्त्याल समुदायको पुर्ख्यौली पेसा खानी खन्ने हो। त्यहाँ अझैसम्म पनि तामाका धाउहरू देख्न सकिन्छ। तामाखानीका सुरुङ छन्। पहाडमा तामा रसाएको देख्न सकिन्छ। 

स्थानीयबासीले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए। उक्त खानीबाट निकालेको तामाबाट गाग्री, टाउलो, माना, पाथी, गिलासलगायत भाँडा तयार पार्ने गरिन्थ्यो। खानीको तामाले बनाएका भाँडा स्थानीयले घरमा सजाएर राखेका छन्।

वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताए। उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ। खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुंगा, स्लेटढुंगा, मार्बल र तातोपानीका मुहानहरू (हटस्पिङ) पाइन्छन्। 

जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो। मच्छिमका साथै धवलागिरिको गुर्जा र मल्कवाङ, रघुगंगाको ठाडाखानी, कुइनेखानी र मंगलेखानीमा तामाखानी छन्। धवलागिरिको नर्जा, मालिकाको रुम, डाँडागाउँ, निस्कोटमा स्लेट ढुंगाखानी छन्। रासस


प्रकाशित : आइतबार, पुस १३ २०८२१०:२५
  • सम्बन्धित विषय:

  • # मौसम
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend