काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य एकै दिन ९ प्रतिशतले वृद्धि हुँदै नयाँ ऐतिहासिक उच्चमा पुगेको छ। बजारमा आपूर्ति अभाव र औद्योगिक माग तीव्र रूपमा बढिरहेका कारण चाँदीको मूल्यमा उल्लेख्य उछाल आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
रोयटर्सका अनुसार शुक्रबार चाँदी प्रतिऔँस ७८ दशमलव ५३ अमेरिकी डलरमा कारोबार भयो, जुन हालसम्मकै उच्च मूल्य हो। चाँदीसँगै अन्य बहुमूल्य धातुहरूको मूल्य पनि ऐतिहासिक स्तरमा पुगेको छ।
स्पट सुन प्रतिऔँस ४,५४९ दशमलव ७१ डलरमा पुग्दै सर्वकालीन उच्च कायम गरेको छ भने प्लेटिनमको मूल्य १० प्रतिशतले बढेर प्रतिऔँस २,४५४ दशमलव १२ डलर पुगेको छ, जुन यसको पनि नयाँ रेकर्ड हो।
विश्लेषकहरूका अनुसार चाँदीको मूल्य वृद्धिको मुख्य कारण विश्व बजारमा निरन्तर देखिएको आपूर्ति अभाव हो। चाँदी सौर्य ऊर्जा, इलेक्ट्रोनिक्स, विद्युतीय सवारीसाधन र अन्य उच्च प्रविधि उद्योगमा व्यापक रूपमा प्रयोग हुँदै आएको छ। औद्योगिक क्षेत्रमा यसको माग तीव्र गतिमा बढिरहँदा उत्पादन अपेक्षाअनुसार विस्तार हुन नसक्दा बजारमा माग–आपूर्ति असन्तुलन देखिएको छ।
यसैगरी, विश्वव्यापी आर्थिक अनिश्चितता, भूराजनीतिक तनाव र सुरक्षित लगानीतर्फ लगानीकर्ताको बढ्दो आकर्षणले सुन र प्लेटिनमजस्ता बहुमूल्य धातुको मूल्यलाई थप समर्थन दिएको रोयटर्सले उल्लेख गरेको छ। अमेरिकी डलर कमजोर हुनु र प्रमुख केन्द्रीय बैंकहरूले आगामी दिनमा ब्याजदर घटाउन सक्ने अपेक्षाले पनि बहुमूल्य धातु बजारलाई बलियो बनाएको विश्लेषकहरूको भनाइ छ।
बहुमूल्य धातुहरूको मूल्य एकसाथ रेकर्ड स्तरमा पुग्नुले अन्तर्राष्ट्रिय कमोडिटी बजारमा नयाँ तरंग ल्याएको छ। यसले आयातमा निर्भर अर्थतन्त्र भएका देशहरूमा मुद्रास्फीतिको दबाब बढ्न सक्ने संकेत पनि देखिएको छ।