काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एउटै दलबाट प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सहमतिसहित ७ बुँदे समझदारी भएको छ। समझदारीअनुसार रास्वपाको नेतृत्व रवि लामिछानेले गर्नेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अगाडि सारिनेछ।
सम्झौतापत्रमा आगामी एक दशकका लागि मुलुकको मार्गचित्र प्रस्तुत गर्दै त्यसप्रति दुवै पक्षको प्रतिवद्धता उल्लेख गरिएको छ। बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आवद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत राखिने समझदारी गरिएको छ।
सम्झौतापत्रमा रवि लामिछाने र बालेन शाह दुवैले आ–आफ्नो पदीय हैसियत उल्लेख नगरी नाम मात्र लेखेर हस्ताक्षर गरेका छन्। यद्यपि, सम्झौतामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने’ र ‘आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ स्पष्ट उल्लेख छ।
सम्झौतापछि बालेन शाहले मेयर पदबाट राजीनामा दिएर सक्रिय पार्टी राजनीतिमा प्रवेश गर्ने सम्भावना रहेको संकेत पनि गरिएको छ।
सम्झौताका पहिलो बुँदामा नवयुवा (जेनजी) पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने तथा आन्दोलनका क्रममा घाइते र शहीद भएका परिवारका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाइएको छ।
दोस्रो बुँदामा समुन्नति र सामाजिक न्यायका लागि नीतिगत, संस्थागत र संरचनागत सुधार गर्ने उल्लेख छ। उनीहरूले नेपाललाई आगामी १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्यसहित इमान्दार प्रयास गर्ने जनाएका छन्।
सम्झौतामा रवि लामिछाने र बालेन शाहलाई क्रमशः पहिलो र दोस्रो पक्षका रूपमा उल्लेख गर्दै ‘बृहत् एकता’को उद्घोष गरिएको छ। पार्टीको संगठनात्मक संरचना सुदृढ र फराकिलो बनाउने क्रममा युवा अभियन्ता तथा अनुभवी विज्ञलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने उल्लेख छ।
यद्यपि, सम्झौतापत्रमा कुलमान घिसिङ तथा उनी आवद्ध उज्यालो नेपाल पार्टीको विषयमा कुनै उल्लेख छैन। तर आगामी बृहत् एकताको प्रक्रियामा अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई समेत समेट्ने संकेत गरिएको छ।
सम्झौता तत्काल कार्यान्वयन गर्ने योजनासहित निर्वाचन आयोगमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अभिलेख तथा दस्तावेज अद्यावधिक गर्ने घोषणा गरिएको छ। घोषणा अनुसार, बालेन पक्षका समानुपातिक उम्मेदवारहरू स्वतः रास्वपाबाट प्रतिस्पर्धा गर्नेछन् र सम्भवतः दुई दिनभित्र समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइनेछ। प्रत्यक्षतर्फको मनोनयनका लागि भने अझै करिब तीन साता समय बाँकी छ।
सम्झौतापत्रमा लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा सहकार्य गर्न अन्य परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्तिलाई आव्हान गरिएको छ। तर पार्टीका अन्य पदाधिकारीको भूमिका, उम्मेदवार छनोट तथा व्यवस्थापनका विषयमा भने सम्झौतामा स्पष्ट व्यवस्था गरिएको छैन।
यसअघि पनि रवि लामिछाने र बालेन शाहबीच एकैसाथ निर्वाचनमा जाने विषयमा पटकपटक छलफल भए पनि ठोस निष्कर्ष निस्किन सकेको थिएन। ७ बुँदे समझदारीलाई भने वैकल्पिक राजनीतिक शक्तिको पुनर्गठनतर्फको निर्णायक कदमका रूपमा हेरिएको छ।
