काठमाडौं- बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि 'तेस्रो लुम्बिनी न्युज फेस्टिबल' आयोजना हुँदै छ। न्युज फेस्टिबलमा 'मोफसल'को पत्रकारिता, संघीयतामा पत्रकारिता क्षेत्रको संरचना, आर्थिक विकास र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा पत्रकारिताको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाका विषयमा नेपालमा अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गरिने भएको छ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीले आयोजना गरेको न्युज फेस्टिबल आजदेखि तीन दिनसम्म सञ्चालन हुने क्लबका अध्यक्ष कमल रायमाझीले जानकारी दिए। बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा आयोजना गरिने कार्यक्रममा पत्रकारिता, लुम्बिनीको पर्यटन प्रवर्द्धन र यस क्षेत्रका मुद्दाहरूलाई राष्ट्रिय-अन्तर्राष्ट्रियकरण गर्न फेस्टिबल आयोजना गरिएको अध्यक्ष रायमाझीले बताए।
कार्यक्रममा भारतको दिल्ली प्रेस क्लब, काशी पत्रकार संघ, बनारस प्रेस क्लब, गोरखपुर प्रेस क्लब, महाराजगञ्ज प्रेस क्लब, सिक्किम प्रेस क्लबबाट पत्रकारहरू आउने क्लबका पूर्वअध्यक्ष नरेश केसीले जानकारी दिए। साथै प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, मूलधारका छापा, मूलधारका टेलिभिजनका सम्पादक, मूलधारका अनलाइनका सम्पादक सहभागी हुनेछन्।
'सीमापार सम्बन्ध : आवश्यकता र सम्भावना', 'लुम्बिनी : लगानी र पर्यटनको सामर्थ्य' र 'पत्रकारितामा प्रश्न : जिम्मेवारी र जवाफदेहिता' विषयमा समूहगत छलफल हुनेछ। यसले लुम्बिनी क्षेत्रको ब्राण्डिङ गर्नुका साथै लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र सीमापार सम्बन्धलाई अझै मजबुत पार्ने आयोजकको भनाइ छ। प्यानल छलफलमा नेपाल-भारतका चर्चित पत्रकारहरू सहभागी हुनेछन्।
क्लबले विसं २०७६ मा प्रथम लुम्बिनी न्युज फेस्टिबल आयोजना गरेको थियो। कोरोना महामारीलगायत कारण यसलाई वार्षिक रूपमा निरन्तरता दिन नसकेपछि विसं २०८० मा भैरहवामा दोस्रो न्युज फेस्टिबल गरेर यसपटक लुम्बिनीमा भव्य रूपमा 'तेस्रो लुम्बिनी न्युज फेस्टिबल' आयोजना गर्न लागिएको हो। रासस